धनुषाको सतलोक आश्रममा १२ जोडिको दाइजोमुक्त अन्तरजातीय विवाह
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका वडा नं. २ स्थित सतलोक आश्रममा १२ जोडिको सामूहिक अन्तरजातीय विवाह दाइजोविना सम्पन्न भएको छ। समाजमा दाइजोमुक्त संस्कृतिको प्रोत्साहन गर्ने उद्देश्यले उक्त विवाह सम्पन्न गरिएको हो।
सतलोक आश्रमले कबीरजीको निर्वाण दिवसको अवसरमा यी विवाहहरूको आयोजन गरेको थियो। मिथिला नगरपालिकाको बेलाचापीस्थित आश्रममा यस वर्ष ५ सय ७ औं कबीर साहेब निर्वाण दिवस भव्य रूपमा मनाइएको थियो। सन्त रामपालजी महाराजका अनुयायीहरूले माघ महिनाको २४ देखि २६ गतेसम्म तीन दिवसीय अखण्ड पाठ र विशाल भण्डारा कार्यक्रम आयोजना गरेका थिए, जसको दोस्रो दिन सामाजिक सुधारको उद्देश्यसँग अन्तरजातीय विवाह सम्पन्न गरिएको हो।
यस विवाहमा कुनै पनि सरसामान र नगद लेन-देन गरिएको छैन। बेहुला र बेहुली पक्षले विवाहमा कुनै प्रकारको खर्च पनि गरेका थिएनन्। आश्रमले विवाहमा सहभागी सबैलाई खाने र बस्ने व्यवस्था पुरा गरेको थियो।
विशाल भण्डारामा १७ मिनेटको गुरुवाणी पाठको बीचमा लाखौं श्रद्धालुहरूको साक्षात्कारमा ती विवाह सम्पन्न भएका थिए। सामाजिक सुधारका रूपमा दाइजो र छुवाछुतको प्रथालाई समाप्त गर्न सन्त रामपालजी महाराजको दाइजोमुक्त समाज अभियानले यस्तो कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रममा विभिन्न स्थानीय निकायका प्रमुख र प्रतिनिधिहरू, चिकित्सक, इन्जिनियर र अन्य विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। आश्रममा स्थापित भक्ति मर्यादा र अनुशासनको सबैले प्रशंसा गरेका छन्, र यस्तो व्यवस्थापन र अनुशासनलाई राज्यले पनि अपनाउनुपर्ने आवश्यकता रहेको संदेश दिइएको छ।
कार्यक्रमको तेस्रो र अन्तिम दिन भोग आरती र सत्संगको कार्यक्रमसहित समापन गरिएको छ। आयोजकका अनुसार, पहिलो र दोस्रो दिनमा करीब ५ लाख श्रद्धालुहरूले भण्डारामा सहभागिता जनाएका थिए।
प्रतिक्रिया राख्नुहोस्