तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा पहिलो पटक प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला प्रदर्शनी सुरु 

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक आयोजित ‘प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला प्रदर्शनी २०८१’आजदेखि कैलालीको धनगढीमा सुरु भएको छ । 

कृषि विकास निर्देशनालयको आयोजनामा तथा सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा सुरु भएको यो प्रदर्शनी पाँच दिनसम्म (माघ २६ देखि ३० गतेसम्म) जारी रहने छ ।

‘सुदूरपश्चिम प्रदेशको समृद्धिका लागि समग्र कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण, विविधीकरण र औद्योगिकीकरण’ भन्ने नाराका साथ आयोजित मेलामा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका कृषिजन्य उत्पादन, पशुपन्छी तथा मत्स्यजन्य वस्तुहरू, आधुनिक कृषि प्रविधिहरू, कृषि उद्यमशीलता, घरेलु उद्योगका उत्पादनहरू प्रदर्शनीमा राखिएका छन् ।

कृषि, पशुपन्छी र मत्स्य क्षेत्रमा हासिल उपलब्धिहरूको प्रत्यक्ष अवलोकन, स्थानीय तथा आधुनिक कृषिजन्य उत्पादनहरूको प्रदर्शनी तथा खरिद विक्री, कृषि तथा पशुपालनसम्बन्धी विज्ञहरूसँग अन्तरक्रिया कार्यक्रम, कृषि मेशिनरी तथा उपकरणहरूको प्रदर्शन तथा खरिद(विक्री, गैर काष्ठ वन पैदावार र घरेलु उद्योगका उत्पादनहरू र सुदूरपश्चिमका मौलिक परिकार तथा सांस्कृतिक प्रस्तुति मेलाका प्रमुख आकर्षण हुन् । 

मेलामा प्रदेशभरबाट किसान, कृषि व्यवसायी, सहकारी संस्थाहरू, विद्यार्थी तथा आम नागरिकहरूको सहभागिता रहेको छ । 

प्रदर्शनी अवलोकन सबैका लागि निःशुल्क रूपमा खुला गरिएको कृषि विकास निर्देशनालय दिपायल डोटीका महानिर्देशक खगेन्द्र प्रसाद शर्माले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारले कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायीकरणलाई प्रवर्द्धन गर्न यो मेला विशेष महत्त्वपूर्ण हुने विश्वास लिएको छ । 

मन्त्रालयका सचिव डा.यज्ञराज जोशीका अनुसार मेलाले प्रदेशका कृषकलाई नवीन प्रविधिहरूको जानकारी गराउनुका साथै स्थानीय उत्पादनको बजारीकरणका लागि समेत अवसर सिर्जना गरेको छ ।

मेलाको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले कृषि तथा पशुपन्छी क्षेत्रमा लगानी बढाउँदै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले उक्त मेला सुदूरपश्चिम प्रदेशको बिम्बका रूपमा रहेको उल्लेख गर्नुभयो । कृषकहरू त्याग र समर्पणको सम्मानमा आयोजित मेलाले कृषि क्षेत्रमा नयाँ सोचको विकास गर्ने उहाँको अपेक्षा छ ।

मेला प्रदर्शनी उद्घाटन समारोहको अध्यक्षता समेत गर्नुभएका सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेश कृषिमा प्रचुर सम्भावना भएको प्रदेश हुनाले त्यसको पहिचान गर्न पनि मेला कोषेढुंगा सावित हुने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button