तपाईँ सुन्दै हुनुहुन्छः

बर्दघाटमा रेयूकाईको आँखा उपचार केन्द्र सञ्चालन

नवलपरासी पश्चिम् । पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका–४ मा रुयूकाईद्वारा सञ्चालित आँखा उपचार केन्द्र आजबाट बिधिवत रुपमा सञ्चालनमा आएको छ ।

देशका विभिन्न ठाउँहरूमा आँखा उपचार केन्द्र सञ्चालन गरेको रेयुकाईले ५ औ आँखा उपचार केन्द्रको रुपमा बर्दघाट बाट आफ्नो सेवा शुभारम्भ गरेको हो । बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले उपचार केन्द्रको आज एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो । नगर प्रमुख श्रेष्ठले आँखा उपचार केन्द्रबाट बर्दघाट नगरपालिकाका ८० हजार जनसङ्ख्याले लाभ लिन सक्ने बताउनुभयो ।

रेयुकाई मासुनागा अस्पताल काभ्रेका महासचिव हीरामणि शर्माले संस्था नाफामुखी नभएकाले अत्यन्तै न्युन मूल्यमा सेवा प्रदान गरिने बताउनुभयो । दक्ष दृष्टि चिकित्सकबाट उपचार हुने उक्त उपचार केन्द्रमा चश्मा बनाउनका लागि अत्याधुनिक मेसिन समेत उपलब्ध रहेको जानकारी दिनुभयो ।

संस्थाले बर्दघाट नगरपालिकाका विभिन्न विद्यालयहरूमा आँखा शिविरको आयोजना गरी १ सय जना विद्यार्थीहरूलाई निःशुल्क चस्मा वितरण गरेको छ ।

कार्यक्रममा बर्दघाट नगरपालिका वडाअध्यक्षहरु बेदविना तिवारी, बिमला गुरुङ ,रेयुकाई बर्दघाटका अध्यक्ष चेतनारायण पाण्डेले आँखा संवेदनशील भएकाले उपचारमा आम नागरिकको पहुँच पुर्‍याउन आफूहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button