किसानहरूको सुझावलाई ऐनमा समेट्छौँ : मन्त्री अधिकारी
चितवन । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले किसानहरूको सुझावलाई कृषि ऐनमा समेट्ने बताउनुभएको छ ।

चितवन प्रदर्शनी केन्द्रमा आजदेखि सुरु भएको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ को उद्घाटन गर्दै अधिकारीले सरकार कृषि ऐन जारी गर्ने तयारीमा रहेको बताउनुभयो । त्यसका लागि आवश्यक र समय सान्दर्भिक सुझाव दिन उहाँले आग्रह गर्नुभयो ।
पशुपालन र डेरीमा नयाँ प्रविधि भित्र्याएर उत्पादनमा विविधीकरण गर्न सके किसानहरूको जीवन परिवर्तन हुनसक्ने उहाँले बताउनुभयो ।
किसानहरूलाई अत्यन्त पीडा भएको भन्दै मन्त्री अधिकारीले त्यो पीडालाई व्यवस्थापनका लागि सबैमा इमानदारिताको खाँचो रहेको बताउनुभयो ।
पोल्ट्री एक्स्पोबारे जानकारी दिँदै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडका अध्यक्ष किशोर बगालेले पशुपालनमा भित्रिएका आधुनिक प्रविधिहरूको प्रदर्शनी गरिएको बताउनुभयो ।
दूधको विविधीकरणका लागि आवश्यक पर्ने उपकरण तथा दूधबाट बन्ने परिकारको प्रदर्शनीसहितका ५२ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टलहरू प्रदर्शनीमा राखिएको बगालेको भनाइ छ ।
दूध किसानहरूको समस्या समाधन गर्ने, पशुपालनमा प्रविधिको प्रयोग गर्दै उत्पादन लागतमा न्यूनीकरण गरी दुग्धजन्य पदार्थको निर्यात गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रदर्शनी माघ २७ गतेसम्म सञ्चालन हुनेछ ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा ५० हजार भन्दा बढी अवलोकनकर्ताको उपस्थिति हुने अनुमान गरिएको छ ।
चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष त्रिलोचन कँडेल, उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओली लगायतले मन्तव्य राख्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्