महिला टी–ट्वान्टी शृङ्खला: नेपालले थाइल्यान्डविरुद्ध ब्याटिङ गर्दै
काठमाडौँ । महिला टी–ट्वान्टी शृङ्खलाको अन्तिम खेलमा नेपालले थाइल्यान्डविरुद्ध ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङ रोजेकी हुन् । नेपाल यसअघि खेलेका पाँचवटै खेलमा पराजित भएको छ । यसअघि नेपाल नेदरल्याण्डससँग २० रन, १५ रन र १० विकेटले तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनले पराजित भएको थियो ।
थाइल्याण्ड भने यसअघि खेलेका पाँच खेलमध्ये चारमा जित निकाल्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । यसअघि थाइल्यान्डले नेदरल्याण्ड्सलाई आठ विकेट र १७ रनले हराएको थियो । यस्तै थाइल्याण्ड पछिल्लो खेलमा भने नेदरल्याण्ड्ससँग एक विकेटले पराजित भएको थियो ।

आज नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित बिन्दु रावल, सम्झना खड्का, एलिशाकुमारी यादव, पूजा महतो, रुविना क्षेत्री, कविता जोशी, राजमयी ऐरी, मनिषा उपाध्याय, सिता राना मगर र रचना चौधरी छन् । राजमतीले प्रतियोगितामा आजको खेलबाट डेब्यू गरेकी हुन् ।








प्रतिक्रिया राख्नुहोस्