तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेनको जेलमा रहेका दुई नेपालीको उद्धार

काठमाडौं । युक्रेनको अध्यागमन कानून उल्लंघनको कारण २०२४ को मे महिनादेखि युक्रेनको जेलमा रहेका दुई नेपाली नागरिकलाई जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले उद्धार गरी नेपाल फर्काइएको छ।

युक्रेनकाे परराष्ट्र मन्त्रालय, International Organization for Migration (IOM), Border Security Guards Ukraine,मोल्डोभाको राजदूतावास र श्रीलंकाका अवैतनिक वाणिज्यदूतको सहयोगमा ६ फेब्रुअरी २०२५ मा नेपाली नागरिकहरूलाई मोल्डोभाको Chisinau बाट नेपाल फर्काइएको हो।

नेपाल फर्कनका लागि आवश्यक हवाइजहाजको टिकटको व्यवस्था गैरआवासीय नेपाली संघको मुख्यालयले गरेको थियो।

नेपाली राजदूतावासले युक्रेनमा रहेका नेपाली नागरिकहरूलाई २०७९ फागुन १० गते एक सूचना जारी गर्दै युक्रेन नजान र मानव तस्करको प्रलोभनमा नपर्न सचेत गराएको थियो। तर, त्यसको बाबजूद पनि केही नेपाली नागरिकहरूले युक्रेनको विद्यमान जटिल परिस्थिति र युरोपका अन्य मुलुकमा पलायन हुनका लागि प्रलोभनमा परेर युक्रेन प्रवेश गरेका छन्।

सन् २०२३ को जनवरी तेस्रो हप्ताबाट युक्रेनसँग सिमाना जोडिएका मुलुकहरूले युक्रेनमा रहेका विदेशी नागरिकहरूलाई आफ्ना देशमा प्रवेश गर्न रोक लगाएका छन्। यस जानकारीको बावजूद पनि केही नागरिकहरूले युक्रेन जान प्रयत्न गरेका छन्।

राजदूतावासले युक्रेनमा कुनै पनि उद्देश्यले वा कुनै प्रकारको प्रलोभनमा परेर नजान सबै नेपाली नागरिकलाई पुनः अनुरोध गरेकाे छ ।राजदूतावासले युक्रेन प्रवेश गरेकाहरुकाे उद्धार गर्न अत्यन्त कठिन हुने जानकारी गराएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button