छिट्टै संघीय निजामती ऐन आउँछ : मन्त्री गुप्ता

वीरगंज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सरकारले छिट्टै कर्मचारीको हक अधिकारका लागि संघीय निजामती ऐन ल्याउन लागेको बताउनुभएको छ ।
नेपाल निजामती कर्मचारी सङ्गठन पर्साको १२ औँ जिल्ला अधिवेशनको आज वीरगंजमा उद्घाटन गर्दै मन्त्री गुप्ताले संघीय निजामती ऐनमा दफावार छलफल भइरहेको बताउनु भयो ।
उहाँले संघीय निजामती ऐनमा १५ सय ८३ वटा बुँदा संशोधनको लागि प्रस्ताव आएकोमा विभिन्न कर्मचारी सङ्गठन एवं ट्रेड युनियन, लोकसेवा आयोग लगायत सम्बन्धित निकायसँग दफावार छलफल गर्दै अन्तिम चरणमा पुगेको बताउनु भयो ।
मन्त्री गुप्ताले संघीय निजामती ऐनको बारेमा राज्यव्यवस्था समितिको पहिलो बैठक मै दफावार छलफल हुँदा ३ वटा विधेयक सर्वसहमतिले पास गराउन सफल भएको बताउनु भयो ।
उहाँले वर्तमान सरकार अस्थिर राजनीतिको अन्त्यका लागि बनेको हुँदा यो सरकार कसैले चाहँदैमा नढल्ने र २०८४ मङ्सिर सम्म नै चल्ने बताउनुभयो ।
मन्त्री गुप्ताले जनताको मुद्दामा सरकारको ध्यान केन्द्रित भइरहेको र अव जनतामा समेत आशा पलाएको हुँदा काँग्रेस र एमाले बिचको सहमतिको सरकार कुनै शक्तिले चाहँदैमा ढाल्न नसक्ने चेतावनी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्