चितवनमा प्रथम डेरी एक्स्पो भोलिबाट, तयारी पुरा

चितवन । नेपालमा नै पहिलो पटक प्रथम राष्ट्रिय डेरी एक्स्पो–२०८१ चितवनको भोलिबाट भरतपुरमा शुरु हुने भएको छ ।
दूधको बजारीकरण र विविधीकरणलाई प्राथमिकता दिने उद्देश्यसहित एक्स्पो गर्न लागिएको हो ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र चितवन उद्योग सङ्घको संयुक्त आयोजनामा हुन लागेको एक्स्पोको उद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गर्नु हुने र एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।
एक्स्पोले दुग्ध क्षेत्रको बृहत् विकासका लागि साझा मञ्च प्रदान गर्ने र नयाँ प्रविधि र नवप्रवर्द्धन र बजार विस्तार र ब्राण्ड प्रवद्र्धनमा मद्दत पुग्ने चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालले बताउनुभयो ।
‘एक्स्पोमा दूध र डेरी उत्पादन सम्बन्धि उपकरण मेसिन, यन्त्रलगायतका प्रविधिहरू प्रदर्शन गरिने अध्यक्ष बगालेले बताउनुभयो । “हामीले डेरी उत्पादनमा नवीनतम प्रविधि गरी यो क्षेत्र थप व्यावसायिक बनाउन एक्स्पो गर्न लागेका हौ”, उहाँले भन्नुभयो, “यसले समग्र कृषक तथा व्यवसायीलाई पनि टेवा पुग्नेछ ।”
एक्स्पोमा डेरीका उपकरण, डेरी उत्पादन, बीमा तथा वित्तीय संस्थाका स्टलहरू गरी ५२ वटा स्टल रहने उहाँले जानकारी दिनुभयो ।
चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेले एक्स्पोले दूध उत्पादन क्षेत्रको बजारीकरण विविधीकरणमा मद्दत पुगोस् भन्ने हेतुले डेरी एक्स्पोको आयोजना गरिएको बताउनुभयो ।
“चितवन एक्स्पो सेन्टरमा कृषि, मेडिकल, पोल्ट्रीलगायत कृषि यन्त्र तथा अटो मोबाइलका प्रर्दशनहरु भइसकेको छ ।”, उहाँले भन्नुभयो, “डेरी एक्स्पोले दुग्ध किसान तथा डेरी प्रडक्टको पनि प्रवर्द्धन पुग्छ र किसानहरूलाई पनि व्यवसायीकरणमा टेवा पुग्छ ।”
एक्स्पोमा यस क्षेत्रका सरोकारवाला, व्यवसायी एवं किसानबीच किसानका भुक्तानी, उत्पादन र बजारीकरण विषयमा अन्तरक्रिया हुनेछ । त्यस्तै, दुग्ध सहकारीबीच हाजिरी जवाफ प्रतियोगिता समेत हुने अध्यक्ष बगालेले जानकारी दिनुभयो ।
माघ २७ गतेसम्म चल्ने एक्स्पोमा २१ लाख खर्च हुने अनुमान गरिएको छ । एक्स्पोमा ५० हजार जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।








प्रतिक्रिया राख्नुहोस्