तपाईँ सुन्दै हुनुहुन्छः

नियमावलीअनुसार नै अध्यादेश माथिका विभिन्न प्रस्तावहरू अगाडि बढाउन सहमति

काठमाडौँ । संसद्मा पेश भएका अध्यादेश र ती अध्यादेशमाथि परेका अस्वीकारका प्रस्तावहरूका सम्बन्धमा प्रतिनिधिसभा नियमावलीअनुसार अगाडि बढ्न प्रमुख राजनीतिक दलहरू सहमत भएका छन् । 

सभामुख देवराज घिमिरेले आज सिंहदरबारमा बोलाउनुभएको छलफलमा प्रमुख राजनीतिक दलका सचेतकहरूले नियमावली अनुसार नै अध्यादेश माथिका विभिन्न प्रस्तावहरू अगाडि बढाउन सहमति जनाउनुभएको हो । 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भोली बस्ने संसद् बैठकका कार्यसूचीबारे छलफल भएको र भोलीको बैठकलाई प्रमुख प्रतिपक्षी दलका नेताले सम्बोधन गर्नुहुने लगायतका कार्यसूचीमा सहमति जुटेको बताउनुभयो । 

मुख्य सचेतक बर्तौलाले अध्यादेश र अध्यादेश माथि परेका अस्वीकारका प्रस्तावहरूका बारेमा नियमअनुसार बैठक अघि बढ्ने र संसद्मा पेश ६ वटै अध्यादेश पारित हुने बताउनुभयो ।  

यस्तै, बैठकपछि नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सबै अध्यादेशका बारेमा छलफल हुने र एउटा अध्यादेशमाथि परेका अस्वीकारका प्रस्तावहरू एकै पटकमा निर्णयमा पुर्‍याउने गरी कार्यतालिका तय भएको जानकारी दिनुभयो । 

बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद्लाई कसरी गतिशिल र प्रभावकारी ढंगले अगाडि बढाउन सकिन्छ भन्ने विषयमा बैठकमा छलफल भएको र राजनीतिक दलहरुबीच सहमतिबाट नियमानुसार अघि बढ्ने निष्कर्ष निकालिएको जानकारी दिनुभयो । 

सभामुख देवराज घिमिरेले यही माघ १८ गते प्रतिनिधि सभाको बैठकमा पेश भएका अध्यादेशहरू माथि धेरै अस्वीकारका सूचनाहरू दर्ता भएपछि राजनीतिक दलहरुबीचको सहमतिका आधारमा अघि बढ्न प्रमुख सचेतकहरूसँग छलफलको आह्वान गर्नुभएको थियो । 

बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चाैरसियासहित नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button