तपाईँ सुन्दै हुनुहुन्छः

राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूबीच समन्वय र सहकार्य आवश्यक

काठमाडौँ । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रदेखि स्थानीय स्तरसम्म नै समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिएको छ । 

अर्थ मन्त्रालयमा बुधवार सम्पन्न बैठकमा सहभागीहरूले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सरोकार भएका निकायहरूबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभएको हो ।

बैठकमा समितिका संयोजक उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार बिन्दु वरपरका साथै वैकल्पिक मार्गबाट हुन सक्ने अवैध निकासी–पैठारी नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । 

उहाँले सबै निकाय जिम्मेवारीपूर्ण ढङ्गबाट सक्रिय हुँदा अवैध कारोबारको नियन्त्रणमा उल्लेखनीय उपलब्धी प्राप्त गर्न सकिने बताउनुभयो । 

बैठकमा अर्थ सचिव डा.रामप्रसाद घिमिरेले आयात–निर्यात हुने वस्तुको अवस्था, वर्गीकरण र प्रयोग लगायतका विषयमा विभिन्न निकायहरूबीचको बुझाइमा एकरुपता हुनु पर्नेमा जोड दिनुभयो ।

राजस्व सचिव दिनेशकुमार घिमिरेले वस्तु उत्पादन र आयातको स्रोतमै नियमन गरेमा अवैध कारोबारलाई नियन्त्रण गर्ने गरी सम्बद्ध अधिकारीबाट गरिएको प्रतिबद्धता कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । 

बैठकमा सहभागी अधिकारीहरूले अवैध निकासी पैठारी नियन्त्रणमा क्रमशः सुधार आए तापनि सार्थक नतिजाका लागि थप पहल गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको  थियो । 

उहाँहरूले सीमा क्षेत्रमा निगरानी बढाउनुका साथै बजार अनुगमनलाई बढाउनु पर्ने र प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो  ।

बैठकमा अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राजस्व अनुसन्धान विभाग,भन्सार विभाग,आन्तरिक राजस्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग लगायतका निकायका अधिकारीहरूको सहभागिता थियो ।                                                                                                

प्रतिक्रिया राख्नुहोस्

Back to top button