तपाईँ सुन्दै हुनुहुन्छः

डुडुवा गाउँपालिकाले नियुक्त गरेको नगर प्रहरी परिचालन

बाँके । बाँकेको डुडुवा गाउँपालिकाले आफ्नै नगर प्रहरी नियुक्त गरि परिचालन गरेको छ । ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४’ अनुसार गाउँ सभाद्वारा पारित सो सम्बन्धीको कार्यविधिले आवश्यक सबै प्रक्रिया पुरा गरि दक्ष नगर प्रहरी नियुक्ति गरेको हो ।

स्थानीय तह अन्तर्गत विभिन्न सार्वजनिक सम्पत्तिको संरक्षण, गाउँ बस्तीको व्यवस्थापन तथा शान्ति सुरक्षा, नदीजन्य पदार्थको अवैध उत्खननको नियन्त्रण, दैवी प्रकोप व्यवस्थापन लगायतका कार्यमा सहयोग पुर्‍याउन नगर प्रहरी भर्ना गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँले स्थानीय सरकारका थुप्रै काम कर्तव्य र अधिकार रहेकाले सो अन्तर्गत सरकारी संरचनाको संरक्षण तथा व्यवस्थापनका लागि नगर प्रहरी नियुक्ति गरिएको बताउनुभयो ।

नगर प्रहरीले डुडुवामा रहेको नदीजन्य पदार्थको अवैध उत्खननको नियन्त्रण, राजश्व सङ्कलन, सरकारी जग्गाको अतिक्रमण रोक्न, विपद व्यवस्थापन, शान्ति सुरक्षा लगायतको कार्यमा ठुलो सहयोग पुग्ने अध्यक्ष चौधरीले बताउनुभयो ।

पालिकाले कानून अनुसारको कार्यविधि मार्फत भर्नाका चरणहरू पार गरि प्रहरी निरीक्षकको कमाण्डमा २५ जना नगर प्रहरी भर्ना गरिएको विषय विज्ञ अवकाश प्राप्त पूर्व प्रहरी नायब उपरिक्षक सूर्यबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार डुडुवा प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी हवल्दार र डुडुवा प्रहरी जवान गरि २५ जना रहेका छन् ।

भर्ना भएका सबै जना नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सेवामा काम गरिसकेको अनुभव रहेको छ । भर्ना भएका नगर प्रहरीलाई थप दक्ष बनाउन एक हप्ते आन्तरिक तालिम समेत प्रदान गरिएको विषय विज्ञ पूर्व डिएसपी केसीले बताउनुभयो । उहाँले डुडुवाले ऐतिहासिक काम गरेको र यसले स्थानीय तहको प्रभावकारी व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नियुक्त भएका प्रहरीहरूलाई एक कार्यक्रमबिच गाउँपालिकाले दर्ज्यानी चिन्ह र सुशोभन गरेको छ । दर्ज्यानी चिन्ह प्रदान गर्दै पालिका अध्यक्ष चौधरीले आफ्नै प्रहरीले कार्यसम्पादन गर्न सहज हुने भन्दै शान्ति सुरक्षा, दैवी प्रकोप व्यवस्थापन, सीमा अपराध नियन्त्रण, अवैध चोरी निकासी र पैठारी नियन्त्रण गर्न सहयोग मिल्ने भएकाले इमान्दारितापूर्वक दिएको जिम्मेवारी निर्वाह गरि काम गर्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button