पर्साका झण्डै ३९ हजार किशोरीहरूलाई ‘एचपिभी खोप’ लगाइँदै
बीरगंज । नेपाल सरकारले आजबाट मुलुकभर पाठेघरको मुखको क्यान्सरविरुद्धको किशोरीलाई ‘एचपीभी खोप’ अभियान सुरु गर सँगै पर्सामा पनि खोप लगाउने कार्य सुरु भएको छ ।
पर्सा जिल्लाका झण्डै ३९ हजार किशोरीहरूलाई ‘एचपिभी खोप’ लगाउने लक्ष्य राखिएको छ । स्वास्थ्य कार्यालय पर्सा जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार, जिल्लाका १४ वटै स्थानीय तहमा ३८ हजार ५५७ किशोरीलाई एचपीभी खोप लगाइनेछ ।
पर्सा जिल्लामा आज बिहान १० बजे वीरगञ्जबाट अभियानको शुरुआत भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४, बहुअरीस्थित मदरसा तौहीदूल इस्लाम सलफिया माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गरिएको ठाकुरले बताउनुभयो ।
पर्सामा खोप अभियान दुई चरणमा सञ्चालन हुँदैछ । पहिलो चरण आजबाट माघ २८ गतेसम्म (वीरगञ्ज महानगरपालिका वडा नम्बर १ देखि–१६सम्म ), पर्सागढी, पोखरिया, पटेर्वा सुगौली, जिरा भवानी, सखुवा प्रसौनी र जगरनाथपुर गाउँपालिकामामा सञ्चालन हुनेछ ।
दोस्रो चरण माघ ३० देखि फागुन ६ सम्म वीरगञ्ज महानगरपालिका (वडा नम्बर १७ देखि–३२ सम्म), बहुदरमाई, पकाहा मैनपुर, कालिका माई, धोबिनी, विन्दवासिनी, छिपहरमाई र ठोरी गाउँपालिकामा सञ्चालन गरिने जनस्वास्थ्य अधिकृत ठाकुरले बताउनुभयो । यसैबिच स्वास्थ्यकर्मीहरुले किशोरीहरूलाई ढुक्क भएर खोप लगाउन समेत आग्रह गर्नुभएकाे छ।
प्रतिक्रिया राख्नुहोस्