तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा किशोरीलाई एचपीभी खोप लगाइने तयारी पुरा

बाँके । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको तयारी बाँकेमा पूरा भएको छ । जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगत बहादुर शाहीले माघ २२ गते पर्ने विश्व क्यान्सर दिवसको अवसर पारेर खोप लगाउन सुरु गर्ने बताउनु भयो । 

जनस्वास्थ्य कार्यालय बाँकेले एचपिभी खोप अभियान अन्तर्गत यस पटक ३६ हजार ९ सय ५० जनालाई खोप सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । जसका लागि जिल्लामा ५ सय २४ वटा खोप केन्द्र स्थापना गरिएको बताउनु भयो ।

पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रूपमा नरहने अवस्थामा पुर्‍याउन सरकारले सन् २०३० सम्म तीन वटा लक्ष्य निर्धारण गरेको छ । जसअनुसार १० देखि १४ वर्षसम्म उमेरका कम्तीमा ९० प्रतिशत किशोरीहरूलाई एचपीभी खोप दिने, ३० वर्षभन्दा माथिको उमेरका कम्तीमा १० प्रतिशत महिलाहरूको पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने र पाठेघरको मुखको क्यान्सर निदान भएका कम्तीमा १० प्रतिशत महिलाको उपचार गरिने छ ।

उक्त उमेर समूहका किशोरीहरू प्रायः विद्यालयमा कक्षा ७ देखि १० मा अध्ययनरत हुन्छन् र विद्यालय बाहिर रहेका सो उमेर समूहलाई खोप नछुट्ने उद्देश्यले सरोकारवालाहरूसँग छलफल गरिएको जनस्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार विद्यालय बाहिर बाँकेमा ७ हजार ६ सय ५४ किशोरी रहेका छन् ।

पाठेघरको क्यान्सरबाट मुक्त गराउन यो अभियान सञ्चालनमा ल्याएको डाक्टर राजन पाण्डेले बताउनु भयो ।  उहाँले भन्नुभयो, “महिलामा पाठेघर क्यान्सरको जोखिम अत्यधिक हुन्छ, क्यान्सर भएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्थालाई अन्त्य गर्न खोप अभियान सञ्चालन गरिएकाले सबैलाई खोप लगाउन अनुरोध गर्दछौँ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button