तपाईँ सुन्दै हुनुहुन्छः

उढरापुरमा कुपोषण व्यवस्थापनका लागि ओ.टि.सी. केन्द्र स्थापना

बाँके। खजुराको उढरापुर स्वास्थ्य चौकीमा बालबालिकाको शिघ्र कुपोषण व्यवस्थापनका लागि ओ.टि.सी. केन्द्र सञ्चालनमा ल्याइएको छ। गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसीका अनुसार, बी. ग्रुपको सहयोग र समन्वयमा केन्द्रको स्थापना गरिएको हो। एक औपचारिक कार्यक्रमका बीच यस केन्द्रको उद्घाटन गरिएको छ। हालै गरिएको स्क्रिनिङमा २ सय १७ जना मध्यम शिघ्र कुपोषण र २७ जना कडा शिघ्र कुपोषण भएका बालबालिका फेला परेका थिए। तीमध्ये, वडा नम्बर ६ मा सबैभन्दा बढी कुपोषण भएका बालबालिका भेटिएका थिए। यसैले, वडा नम्बर ६ लक्षित गरेर उढरापुर स्वास्थ्य चौकीमा यो केन्द्र स्थापना गरिएको हो।

केसीले भन्नभयो”खजुरा गाउँपालिका वडा नम्बर ६ मा आधारभूत स्वास्थ्य केन्द्र रहेको भए पनि, स्वास्थ्य चौकीमा जनशक्ति र व्यवस्थापन राम्रो भएको कारण यहाँ केन्द्र स्थापना गरेका हौं।” यस केन्द्रमा, मध्यम र कडा शिघ्र कुपोषण भएका बालबालिकालाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार गरिनेछ।

“एक जना बच्चालाई न्यूनतम आधा घण्टा देखि पौने घण्टासम्म स्वास्थ्यकर्मीले समय दिनेछन्। बच्चाको चेकजाँच पछि, उनीहरूको खानपान र स्याहार सुसारको बारेमा स्वास्थ्यकर्मीले सिकाउँछन् र सुधारको लेखाजोखा पछि गरिन्छ,” केसीले जानकारी दिनु भयो ।

कार्यक्रममा खजुरा गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक कृष्णा पोखरेलको अध्यक्षतामा, बी. ग्रुपका अध्यक्ष ईन्द्रबहादुर भण्डारी र स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी लगायतका प्रमुख वक्ताहरूले बोल्नुभएको थियो। यस कार्यक्रममा वडा स्तरका जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू पनि उपस्थित थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button