तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीमा ५१ हजारभन्दा बढी किशोरीलाई एचपीभी खोप दिइने

सर्लाही  । सर्लाहीमा ५१ हजार ७ सय २४ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर (एचपीभी) विरुद्धको  खोप दिइने भएको छ ।

जिल्ला स्तरीय खोप समन्वय समिति आज आयोजना गरेको अभिमुखीकरण गोष्ठीमा स्वास्थ्य कार्यालयका सर्लाहीका प्रमुख नबल किशोर झाले माघ २३ गतेदेखि २९ गतेसम्म र फाल्गुन १ देखि ७ गतेसम्म दुई चरणमा सर्लाहीका २० वटै पालिकामा पाठेघरको मुखको क्यान्सर (एचपीभी) विरुद्धको खोप सञ्चालन हुने बताउनुभयो । सर्लाहीमा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष सम्मको किशोरी तथा विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई एचपिभी खोप लगाइने प्रमुख झाले बताउनुभयो । 

जिल्ला स्तरीय खोप समन्वय समिति अध्यक्ष कौशल किशोर सिंहको अध्यक्षतामा भएको  अभिमुखीकरण कार्यक्रममा अभियानलाई सफल पार्न सञ्चारकर्मीहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले गोष्ठीको आयोजना गरिएको जानकारी दिनुभयो । महिलामा हुने पाठेघर मुखको क्यान्सर हुनबाट बचाउन निकै खोप महत्त्वपूर्ण हुने खोप उहाँले बताउनुभयो ।  खोप अभियानलाई प्रभावकारी रुपमा सञ्चालनका लागि प्रचारप्रसार गरिदिन सञ्चारकर्मीलाई उहाँले आग्रह गर्नुभयो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले स्वास्थ्य सेवा सबैको पहुँच हुने गरी लक्षित वर्ग, कोही पनि नछुट्ने गरी अभियान सञ्चालन गर्न निर्देशन दिनुभयो । देशव्यापी रुपमा सञ्चालन हुने खोप अभियानलाई सर्लाहीमा शत प्रतिशत लक्ष्य पुरा गर्ने गरी सबैको समन्वयमा अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेश स्वास्थ्य निर्देशनालय, डब्लुएचओ प्रतिनिधिलगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button