तपाईँ सुन्दै हुनुहुन्छः

प्याराडाइज बन्यो राईजिङ भरतपुर गोल्डकप च्याम्पियन

चितवन । मिनान्नो राईजिङ भरतपुर गोल्डकपको उपाधि प्याराडाइज युथ क्लब रत्ननगरले जितेको छ । आज (शनिबार) सम्पन्न फाइनलमा बागमती युथ क्लब सर्लाहीलाई १–० ले हराउँदै प्याराडाइजले उपाधि चुमेको हो ।

नेपाल प्रहरी शिक्षालय भरतपुर तालिम केन्द्रको मैदानमा भएको उपाधि भिडन्तमा प्याराडाइजलाई च्याम्पियन बनाउन मोहित गुरुङले निर्णायक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको १५ औँ मिनेटमा मैदान प्रवेश गरेका मोहितले १६ औँ मिनेटमा निर्णायक गोल गरे ।

खेलको अन्त्यतिर बागमतीले राम्रो अवसरहरू बनाए पनि गोल गर्न सकेन । निर्णायक गोल गरेका मोहित प्लेयर अफ दि म्याच चुनिए । च्याम्पियन बनेको प्याराडाइजले ट्रफीसहित सात लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा सीमित बागमतीले तीन लाखमा चित्त बुझाएको छ ।

उपविजेता बागमतीका राज भुसाल प्लेयर अफ दि सिरिज भए । यस्तै प्याराडाइजका अभिषेक बराल उत्कृष्ट गोलरक्षक तथा प्याराडाइजकै जीवन गुरुङ उत्कृष्ट डिफेन्डर बने । उनीहरूले जनही १० हजार रुपैयाँ प्राप्त गरेको आयोजक चितवन ११ का अध्यक्ष सुशील कार्कीले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button