आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेश टाइगर कप भलिबलको फाइनलमा
पोखरा । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको दोस्रो क्वालिफायरमा आर्मीलाई ३–१ को सेटले पराजित गर्दै गण्डकीले फाइनल यात्रा तय गरेको हो ।
पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२–२५ ले आर्मी समक्ष हार व्यहोरेको थियो । गण्डकीले तेस्रो सेट २५–१५ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भयो । अब गण्डकीले उपाधिका लागि आइतबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । गण्डकीसँग पराजित भएको आर्मीले तेस्रो भएको छ ।
त्यसै गरी आज भएको महिलातर्फको दोस्रो क्वालिफायरमा टिपटप न्यू डायमन्ड स्पोर्ट्सलाई ३–१ को सेटले पराजित गर्दै आयोजक टोली टाइगर ग्रुप अफ पोखरा फाइनलमा प्रवेश गरेको छ । आयोजक टोलीले अब उपाधिका लागि भोलि सशस्त्र प्रहरी बल (एपीएफ) क्लबसँग खेल्ने खेल संयोजक रामकृष्ण ज्ञवालीले जनाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्