तपाईँ सुन्दै हुनुहुन्छः

बजेट अभावमा पिपलमुडाको बेलीब्रीज सञ्चालनमा आउन सकेन

हुम्ला । हुम्ला र मुगु जोड्नको लागि निर्माण गरिएको पिपलमुडाको बेलीब्रीज सञ्चालनमा आउन अझैँ समय लाग्ने भएको छ । निर्माण कार्य सम्पन्न हुन करिब ३ दिन मात्र लाग्ने भएपनि सम्झौता अनुसारको बजेट भुक्तानी नभएकाले बेलीब्रीज निर्माण सम्पन्न नगरेको निर्माणको जिम्मा लगेको रबि चक्र निर्माण सेवाका बखतबहादुर मल्लले बताउनुभएको छ  ।

उहाँका अनुसार २०७८ साल असार २७ गतेका दिन सोरु गाउँपालिका र रबि चक्र निर्माण सेवा उक्त बेलीब्रीज निर्माणको लागि ४ करोड ५१ लाख २ हजार ७ सय ५९ रुपैयाँमा सम्झौता भएपनि सोरु गाउँपालिकाले अहिले सम्म आफूलाई २ करोड मात्र भुक्तानी गरेको तर बाँकी सबै रकम भुक्तानी नदिएकाले निर्माण कार्य रोकिएको बताउनुभएको छ  ।

बेलीब्रीजको सबै काम सम्पन्न भई २ वटा फट्टा हाल्न मात्र बाँकी रहेका बेला आफ्नो पाउने बाँकी रकमको भुक्तानी नभएसम्म काम अगाडी नबढाउने बताउनुभयो ।

तर गाउँपालिकाले भने आफूले सम्झौता गरे अनुसारको रकम बर्सेनी भुक्तानी गरिरहेकाले अबको केही दिनमा बेलीब्रीजको उद्घाटन गर्ने तयारी भइरहेको बताएको छ । केही समाग्रीहरु आउन बाँकी रहेकाले उक्त सामाग्रीहरू मुगु जिल्ला सदरमुकाममा पुगिसकेकाले अबको केही दिनमा पुल सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीको भनाई छ । उहाँका अनुसार यही महिनाको २५ गते सम्म बेलीब्रीज उद्घाटन गर्ने तयारी भएको बताए । 

निर्माण सेवाका प्रतिनिधिहरूले जे भने पनि आफूहरूले सोही अनुसारको रकम बर्सेनी भुक्तानी गरी रहेको बताए । तर निर्माणको जिम्मा लिएको रबि चक्र निर्माण सेवाले भने थोरै मात्रै काम बाँकी राखेर आफ्नो बाँकी रकम भुक्तानी नदिएसम्म पुल नजोड्ने बताउँदै आएको छ । भुक्तानी आधा बाँकी छ, सबै समाग्रीहरु उधारोमा हालिएको छ भने ढुवानी देखी कामदारहरूको सबै उदारो रकम चलाउँदा आफूहरूलाई काम गर्ने नसक्ने अवस्था आएपछि काम रोक्नु परेको बताउँदै आएको छ । 

उक्त पुल निर्माण भएपश्चात् हुम्ला र मुगुका नागरिकहरू सडक सञ्जालमा जोडिने भएका छन् । कर्णाली करिडोरमा जोडिएको उक्त पुल सञ्चालनमा आएपश्चात् रारा जान सजिलो र अत्यन्तै छोटो हुने छ भने हुम्लाबाट मुगुको रारा हुँदै जुम्ला, कालीकोट दैलेख हुँदै सुर्खेत जान समेत सजिलो हुने भएको छ । उक्त पुल नबन्दा हुम्लाका नागरिकहरू रारा जानको लागि बाजुराको धुलाचौर हुँदै खत्याडबाट जुम्ला पुगेर उल्टै रारा आउनु पर्ने बाध्यता छ । उक्त पुल बन्दा रारा जान निकै सजिलो हुने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button