तपाईँ सुन्दै हुनुहुन्छः

तराई मधेसमा माटाको भाँडा बनाउने पेसातर्फ आकर्षित

वीरगंज । केही वर्ष यता वीरगंज लगायतका शहरबजारहरुमा माटोको भाँडामा चिया , लस्सी, मिठाई खाने देखी लिएर माटोकै भाँडामा मासु समेत बनाउने प्रचलन बढ्दै गएपछि अहिले तराई मधेसका युवाहरू माटोको भाडा बनाउने पेसातर्फ आकर्षित भएका छन् । 

माटोका विभिन्न घरायसी भाँडा बनाउने प्रचलनले रोजगारी मात्रै नभई हाम्रो संस्कार संस्कृतिको जगेर्ना समेत गरेको प्राध्यापक डाक्टर विश्वम्भर शर्माले बताउनुभयो । 

वीरगंज लगायत बारा,पर्सामा मट्का अर्थात् चिया,लस्सी पिउने, दही र मिठाई खाने माटोको भाँडो(मट्का र प्याला) बनाउने तालिम लिएर स्थानीय युवा तथा महिलाहरू मनग्ये आम्दानी गर्न थालेका छन् । 

पछिल्लो समय वातावरणका लागि समेत हानिकारक मानिएका प्लास्टिक र प्लाष्टिक जन्य वस्तुको प्रयोगमा नियन्त्रण गर्न भइरहेको विश्वव्यापी पहलले पनि धार्मिक रीतिरिवाज , संस्कृतिमा प्रयोग भइरहेको प्लास्टिकका भाँडा र सामानको साटो माटोको सामाग्री प्रयोग गर्ने गराउने उद्देश्यका साथ मट्का बनाउने तालिम लिएपछि युवा तथा महिलाहरू अहिले आफ्नो काममा तल्लीन देखिएका छन् । 

महिलाहरू घरको काम सकेर मट्का बनाउने कार्यमा लागेपछि दुईचार पैसाको लागि पनि घरका मूलीको मुख ताक्नु पर्थ्यो बाध्यता अब उनीहरूलाई छैन । फुर्सदका समयमा मट्का बनाएर एक जना महिलाले महिनामा करिब १० हजार रुपैयाँसम्म आम्दानी गर्न थालेका छन् ।

मट्का बनाउने व्यवसाय सञ्चालन गरेका वीरगन्जका युवक कौशल किशोर सरार्फ पुर्ख्यौली सुनचाँदी पसलको पेसामा घाटा लाग्दै गएपछि बिदेसिने तैयारीमा रहेको बेला वीरगन्जमा स्वास्थ्य र स्वादिलो चियाका पारखीहरू बढ्न थालेसँगै शहर बजारमा बढ्दो मट्का चियाको प्रभाव सँगै भारतबाट आयात गरिने मट्काका भाँडा वर्तनलाई विस्थापित गर्न आफैले वीरगंजमा मट्का उत्पादन गर्ने उद्योग सञ्चालन गर्नुभएको छ । 

अहिले वीरगंज लगायत काठमाण्डौं, पोखरा, हेटौडा, नारायणगढ लगायतका शहर बजारमा मट्का चियाका पसल , क्याफे , होटल खुल्ने क्रम बढ्दै गएको र लस्सी, दही र मिठाई खाने माटोको भाँडाहरूको माग बढ्न थालेपछि शर्राफले पर्साको ग्रामीण क्षेत्रमा जग्गा भाडामा लिएर १५ लाखको लागतमा खोलेको मट्का उद्योग अहिले युवाहरूको लागि प्रेरणाको स्रोत बनेको छ । 

अहिले शर्राफले उत्पादन गरेका मट्काका भाँडा वीरगन्जमात्रै नभई कलैया, बुटवल , पोखरा देखी सुर्खेतसम्म पनि जाने गरेका छन् । 

मट्कामा चिया पिउँदा स्वास्थ्यका लागि पनि राम्रो र स्वादिलो हुनुका साथै युनिक पनि देखिने भएकाले ग्राहकको आकर्षण बढ्दै गएको शर्राफले बताउनुभयो । एक पटक प्रयोगमा ल्याई सकिएको मट्का दोस्रो पटक प्रयोगमा नआउने भएपछि यसको माग बढ्दै गएको शर्राफले जानकारी दिनुभयो । 

अहिले उहाँको मट्का उद्योगमा २० जना युवा तथा महिलाहरू कार्यरत छन् । चिया र लस्सी पिउने माटोको भाँडो मट्का तराई–मधेसका मात्र नभई विभिन्न समुदायको संस्कृतिसँग पनि जोडिएको छ । 

मट्कामा चिया स्वादिलो हुनुका साथै प्लास्टिकको भन्दा माटोको भाँडो वातावरणको हिसाबले पनि तथा अलि फरकपनि देखिने भएकोले ग्राहकको आकर्षण बढ्दै गएपछि चिया, लस्सी पिउने मट्का बनाउने व्यवसायले देशभरी नै बजार लिन थालेको छ । यसले युवादेखि वृद्ध उमेर समूहका खासगरी ग्रामीण भेगका महिलाहरू पनि लाभान्वित भएका छन् ।

सर्राफको मट्का उद्योग चलिरहेको पर्साको झौवागुठी गाउँकी चन्दा देवी अहिले सोही उद्योगमा कार्यरत हुनुहुन्छ । उहाँका श्रीमान् घरको आर्थिक अवस्था बिग्रिएपछि विदेशिएको अवस्थामा चन्दा देवीले इलम हेल्भेटासको तालिम लिएर मट्का उद्योगमा काम गर्न थालेपछि घरको काम सकेर अतिरिक्त समयमा मासिक १० देखि १२ हजार रुपैयाँ सम्म कमाउन थालेको बताउनुभयो । 

चन्दा जस्तै एक दर्जन बढी आर्थिक अवस्था न्यून भएका महिलाहरूको आयआर्जनको प्रमुख श्रोत समेत मट्का उद्योग बनेको छ । 

अहिले वीरगंजमा घरेलु उद्योगको रुपमा रहेको मट्का उद्योग खुल्ने क्रम बढेर गएका छ । वीरगंजमा मात्रै १० भन्दिबढा मट्का उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको घरेलु तथा साना उद्योग कार्यालय पर्सा वीरगंजले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button