बेलौरी वितरण केन्द्रअन्तर्गत चार दिनसम्म विद्युत् सेवा अवरुद्ध
कञ्चनपुर । नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयले बेलौरी वितरण केन्द्रअन्तर्गतका क्षेत्रहरूमा चार दिनसम्म विद्युत् सेवा अवरुद्ध रहने जनाएको छ । प्राधिकरणका अनुसार गर्मीयाम र हावाहुरीको समयमा नियमित रूपमा देखिने अनियमित विद्युत् आपूर्ति तथा न्यून भोल्टेज समस्याको सुधारका लागि लालपुर १३२/३३/११ केभी सब-स्टेसनदेखि कलुवापुर ३३/११ केभी सब-स्टेसनसम्मको ३३ केभी लाइनको कन्डक्टर अपग्रेड गरिँदै छ । यस क्रममा माघ १६ गतेदेखि माघ १९ गतेसम्म चार दिन बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध रहने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बेलौरीका प्रमुख टङ्कराज गिरिले जानकारी दिनुभएको छ
विद्युत् लाइन सुधारका लागि ठेकेदार कम्पनीले माग गरेको समयानुसार विद्युत् सेवा अवरुद्ध हुँदा कञ्चनपुरका पुर्नवास, बेलौरी, लालझाडी र बेलडाँडीमा त्यसको असर परेको छ । मौसम अनुकूल रह्यो भने तोकिएको समयमा नै काम सम्पन्न गरिने तथा निर्धारित समयभन्दा अघि नै कार्य सकिएमा विद्युत् सेवा समय अगावै पुनः सञ्चालन गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले विद्युत् सेवा बन्द रहने समयमा लाइन नजिक कुनै पनि कार्य नगर्न आग्रह गर्दै उपभोक्ताहरूलाई पर्न जाने असुविधाप्रति क्षमा याचना व्यक्त गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्