प्रथम सहिद लखन थापाको योगदानलाई बिर्सन हुन्न : पूर्व मुख्यमन्त्री पौडेल
मकवानपुर । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले प्रथम सहिद लखन थापाको बलिदानीपूर्ण सघर्ष र योगदानलाई बिर्सन नहुने बताउनुभएको छ ।
सहिद सप्ताह–२०८१ का अवसरमा सोमबार हेटौँडा–१२, स्थित प्रथम सहिद लखन थापा मगर स्मृति वाटिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले लखन थापाले देश र जनताका लागि गरेको योगदानको उचित कदर गर्नुपर्ने बताउनुभयो ।
उहाँले राणा विरुद्ध पहिलो बिगुल फुक्ने सहिद लखन थापाका विचार अहिले पनि सान्दर्भिक भएको भन्दै यसलाई व्यापक बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले अहिले जहाँ जो मरे पनि सहिद घोषणा गरिनाले देश र जनताका लागि लड्ने वास्तविक सहिदको अवमूल्यन भएको बताउनुभयो ।
सहिद स्मारक विकास समितिले सहिद सप्ताह २०८१ का अवसरमा पाँचौँ दिन आज हेटौँडा–१२ स्थित प्रथम सहिद लखन थापा मगर स्मृति वाटिकामा विशेष कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा बाटिकामा रहेको प्रथम सहिद लखन थापाको प्रतिमामा माल्यार्पण गरिएको थियो । बाटिकाका सल्लाहकार बेली थापाले उहाँको बारेमा चर्चा गर्नुभएको थियो ।
प्रथम सहिद लखन थापा मगर स्मृति वाटिकाका अध्यक्ष विश्वकुमार आलेको सभाध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौँडा–८ का पूर्व अध्यक्ष गोपाल बहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको बाटिकाका सचिव सुवास थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्