आहा रारा पोखरा गोल्डकप : बेलायतबाट फुटबल टिम नेपाल आयो
पोखरा । पर्यटकीय नगरी पोखरामा यही माघ २२ गतेदेखि सुरु हुने २४ औँ संस्करणको आहा रारा पोखरा गोल्ड कपमा सहभागी हुन बेलायतबाट फुटबल टोली नेपाल आएको छ ।
सोमबार बिहान त्रिभुवन विमानस्थल उत्रिएको ब्रिगेड ब्वाइज फुटबल क्लब, युकेको टोलीलाई सहारा क्लब पोखराका संस्थापक कार्यसमिति सदस्य शान्ति केसी लगायतले स्वागत गर्नुभएको थियो ।
उक्त टिम म्यानेजरमा सुरेश राना तथा सहायक प्रशिक्षकमा रोशन राई रहनुभएको छ । सहारा क्लब पोखराले आउँदो फागुन ३ गतेसम्म पोखरा रङ्गशालामा २४ औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ ।
प्रतियोगितामा भाग लिने १२ टिममध्ये हालसम्म ११ टिमको टुङ्गो लागिसकेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार, मच्छिन्द्र फुटबल क्लब, एनआरटी, एपिआई पावर चर्च ब्वाइज युनाइटेड क्लब, सङ्कटा, नेपाल पुलिस, एपिएफ, थन्डर नर्थ युनाइटेड क्लब भारत, आयोजक सहारा क्लबले समेत भाग लिने छन् । विदेशी थप एक टिम समेत ल्याउने तयारी गरेको क्लबले जनाएको छ ।
प्रतियोगिताका विजेतालाई १२ लाख र उपविजेतालाई भने ६ लाख पुरस्कार प्रदान गरिने छ । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौँ’ भन्ने उद्देश्यका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले फुटबल मार्फत सामाजिक कार्य गर्दै आएको क्लबका अध्यक्ष केशवराज बरालले जनाउनुभयो ।
आहा रारा नेपालमै निरन्तर भइरहेको एक मात्र फुटबल प्रतियोगिता हो । प्रतियोगिताबाट बचत रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्चिने अध्यक्ष बरालले जनाउनुभयो । हाल एकेडेमीमा ३० जना बालक आश्रित हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्