तपाईँ सुन्दै हुनुहुन्छः

व्यक्ति स्वस्थ भए मात्रै देश विकास सम्भव छ: मन्त्री पौडेल

तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले व्यक्ति स्वस्थ भएमात्रै देश विकास सम्भव रहेको बताउनुभएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगाैँडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयको आज आयोजित ५५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री पौडेलले देशका नागरिक स्वस्थ भएमात्रै देशले प्रगति गर्न सक्ने उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, “एकदमै धनी मानिस बिरामी छ,भने उसले सुखी जीवन बिताउन सक्दैन । विद्वान मानिस स्वस्थ छैन भने उसले देशका लागि केही गर्न सक्दैन ।” स्वस्थ मानिस मात्रै सुखी हुने बताउँदै मन्त्री पौडेलले व्यक्ति स्वस्थ हुनका लागि आहारव्यहारमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, “एउटा व्यक्तिको स्वास्थ्यमा पर्यावरणले कति असर गरेको हुन्छ भन्ने हाम्रो देशले थाहा पाउन सकेको अवस्था छैन । स्वस्थ नागरिक बनाउनका लागि धेरै पक्षमा ध्यान दिन जरुरी छ ।” 

मन्त्री पौडेलले व्यक्ति स्वस्थ हुन सचेतना समेत जरुरी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोही पनि मानिसलाई रोगी हुने रहर हुँदैन, नजानेर व्यक्ति रोगी हुन्छ । त्यसैले सबै मान्छेलाई स्वस्थ कसरी बनाउन सकिन्छ भनेर चेतना विस्तार गर्न जरुरी छ ।” मन्त्री पौडेलले विद्यालय स्तरदेखि नै स्वास्थ्य विषय अनिवार्य पढाउनुपर्ने बताउँदै त्यसका लागि शिक्षा मन्त्रालयसँग समन्वय गरिएको जानकारी दिनुभयो । 

मन्त्री पौडेलले नेपालका १६ लाख किशोरीलाई पाठेघरको रोगविरुद्ध एचपिभी खोप अभियान सुरु गर्न लागिएको उल्लेख गर्नुभयो । स्वास्थ्य क्षेत्रलाई आम नागरिकको पहुँचसम्म लैजान वर्तमान सरकार प्रतिबद्ध रहेको उहाँकाे भनाइ थियो । 

मन्त्री पौडेलले विश्वमाझ प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्ने शिक्षा आजको आवश्यकता रहेको चर्चा गर्नुभयो । पञ्चमुनी यस क्षेत्रकै नमुना विद्यालय रहेको र यसले यस क्षेत्रको शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका खेलिरहेको उहाँको भनाइ थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button