तपाईँ सुन्दै हुनुहुन्छः

संविधानका आधारभूत विषयलाई चलाउनु हुँदैन : महामन्त्री थापा

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानमा केही हेरफेर भए पनि संविधानका आधारभूत विषयहरूलाई चलाउन नहुने बताउनुभएको छ । 

आज भक्तपुरमा मीनकुमारी राणाको तेस्रो पुण्यतिथिका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले संविधानका केही विषयहरूलाई संशोधनमार्फत फेरबदल गर्न सकिने भए पनि आधारभूत विषयहरूलाई चलाउन नहुने बताउनुभयो ।

महामन्त्री थापाले नेपाली नागरिकको समुन्नति अबको आवश्यकता भएको बताउँदै नेपालको अबको मुद्दा नेपालमै नागरिकलाई आत्मसम्मानका साथ जीविकोपार्जन गर्न सक्ने हुनुपर्नेमा जोड दिनुभयो । 

महामन्त्री  थापाले कांग्रेस र एमालेले २०८४ को चुनावलाई पर्खेर बस्ने नभई अहिलेको अवसरलाई नै सदुपयोग गरेर देश र जनताको समुन्नतिका लागि काम गर्नुपर्ने बताउनुभयो  ।

उहाँले अर्को विकल्प वा व्यवस्थाका विषयमा बहस भए अर्को १० वर्ष खेर जाने भन्दै असफलताको भारी व्यवस्थालाई बोकाउन नहुने धारणा राख्नुभयो । 

पाँच पाँच वर्षमा हुने निर्वाचनमा दलहरू जित्ने हार्ने स्वाभाविक प्रक्रिया भएकाले यसलाई सबैले स्वीकार गर्न सक्नुपर्ने महामन्त्री थापाले बताउनुभयो ।

महामन्त्री थापाले एउटा नेता मन्त्री, प्रधानमन्त्री हुने  ठूलो कुरा नभए पनि नेतृत्व बदल्ने कुरा महत्त्वपूर्ण भएको उल्लेख गर्नुभयो । उहाँले आफूहरूले अवसर पाउने हो भने राम्रोसँग देश चलाउन सक्ने बताउनुभयो ।

महामन्त्री थापाले अहिलेको भन्दा राम्रोसँग देश चलाउँछु भन्ने विश्वासकै कारण काँग्रेसको संसदीय दलको नेताका लागि पहल गरेको जिकिर गर्नुभयो ।

कार्यक्रममा संघीय सांसद दुर्लभ थापा, प्रतिष्ठानका सल्लाहकार वरिष्ठ पत्रकार हरिहर विरही, नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष कबिर राणा,पुरस्कृत व्यक्तित्व प्रजातन्त्र सेनानी तिलकप्रकाश कायस्थ, प्रतिष्ठानका महासचिव रवि राणाले स्व.मीनकुमारी राणा महिला लोकतान्त्रिक आन्दोलनको हिस्सा भएको चर्चा गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको नगद राशिसहितको पुरस्कार तीन विधाका व्यक्तित्वलाई प्रदान गरिएको छ । 

कार्यक्रममा नगद एकाउन्न हजार एक रुपैयाँ राशिको प्रजातन्त्र सेनानी पुरस्कारबाट तिलकप्रकाश कायस्थ, त्यति नै राशिको वरिष्ठ पत्रकार पुरस्कारबाट श्री आचार्य र वरिष्ठ खेलाडी एवं प्रशिक्षक पुरस्कारबाट प्रचण्ड शर्मालाई पुरस्कृत गरिएको हो । 

सोही अवसरमा भक्तपुर सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयका जेहनदार विद्यार्थीलाई प्रदान गर्ने गरी ५१ हजार १ रुपैयाँको छात्रवृत्ति हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका ३ भक्तपुर गणेश आधारभूत विद्यालयसँगको समाजसेवी मीनकुमारी राणा मार्गको नामकरणसहितको प्रतिमा अनावरण पनि गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button