वडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि निःशुल्क जग्गा दान

जुम्ला । तातोपानी गाउँपालिका वडा नं.२ मा स्वास्थ्य पूर्वाधार निर्माणका लागि सोही वडाकी मौरी बुढाले जग्गा दान गर्नुभएको छ ।
वडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माणार्थ बुढाले तीन सय वर्गमिटर जग्गा दान दिनुभएको हो ।
१५ लाख बराबर मूल्य पर्ने ३ सय वर्गमिटर जग्गा आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि जग्गादाता स्थानीय मौरी बुढाबाट नि:शुल्क प्राप्त भएको तातोपानी गाउँपालिका वडा नं. २ का अध्यक्ष चन्द्रमान बुढाले बताउनुभयो ।
“आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि लामो प्रयास र पहलबाट निःशुल्क जग्गा प्राप्त गर्न सफल भएका छौँ ।”, वडाध्यक्ष बुढाले भन्नुभयो,“अब संरचना निर्माण गर्न बजेट व्यवस्थापनका लागि पहल गर्छौ । स्वास्थ्य केन्द्र बनाउन बजेट छुटाइएको छैन । जग्गा पास भइसकेपछि बजेट माग्न पनि सहज हुने छ । १५ लाखको जग्गा निःशुल्क दिने र यस कार्यमा सहयोग गर्ने सबैप्रति वडा सरकार आभारी छ ।”
आधारभूत स्वास्थ्य केन्द्रका नाममा ३ सय वर्गमिटर जग्गा प्राप्त भइसकेकोले पूर्वाधार निर्माणको लागि संघ र प्रदेशमा बजेट माग गर्ने वडाध्यक्ष बुढाको तयारी छ ।
प्रतिक्रिया राख्नुहोस्