आम नागरिकमा सूचनाको सहज पहुँच आवश्यक : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचनाको हक प्रभावकारी कार्यान्वयनका लागि आम नागरिकमा सूचनाको सहज पहुँच आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रिय सूचना आयोगले विराटनगरमा आज आयोजना गरेको कोशी प्रदेशस्तरीय सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कार्कीले आम नागरिकमा सूचनाको हकको विषय जानकारी गराउन तीनै तहका सरकारका संयन्त्रले सचेतना अभिवृद्धि गर्ने कार्य गर्न जरुरी रहेको बताउनुभयो ।
उहाँले कुनै एउटा उद्देश्य राखेर एउटै व्यक्तिले धेरै विषयमा सूचनाको हक प्रयोग गर्दै लिएका कतिपय सरकारी सूचनाको गलत अर्थ लगाएर त्यसलाई प्रचारप्रसार गर्ने गरेको पाइएकाले त्यसतर्फ राष्ट्रिय सूचना आयोगको ध्यान जान जरुरी रहेको बताउनुभयो ।
उहाँले सूचनाका हकले मुलुकमा सुशासन कायम हुने र लोकतन्त्र सफल हुने भएकाले सेवा प्रवाहका विषयमा कुनै पनि सूचनाको माग भएमा त्यसलाई निर्बाध रूपले नागरिकलाई उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

कतिपय व्यक्तिले सूचनाका हक प्रयोग गर्दै जानकारी लिने र त्यसलाई सामाजिक सञ्जालमार्फत गलत उद्देश्यले प्रयोग गर्ने गरेको भन्नुहुँदै मुख्यमन्त्री कार्कीले सूचनाको हक सदुपयोग भयो वा दुरुपयोग भयो भन्नेतर्फ ध्यान जानु आवश्यक रहेको बताउनुभयो ।
सो अवसरमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त सुरेश आर्चायले आम नेपाली नागरिकले सूचनाको हक प्रयोग गर्न पाउनुपर्ने विषय संविधानमै उल्लेख भएकाले सूचना दिने र सूचना माग्नेको नियत सफा भए यस विषयमा कुनै समस्या नआउने बताउनुभयो ।
उहाँले कार्यालयका सूचना अधिकारीले पनि कार्यालयको सेवा प्रभावको जानकारीको विषयमा आफूलाई तयारी अवस्थामा राख्दै सरकारी सेवा प्रवाहका सबै सूचना अभिलेखीकरण हुनुपर्ने बताउनुभयो ।
कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्माले सरकारी निकायहरूले पारदर्शी, उत्तरदायी र जबाफदेही भएको सूचना प्रवाह गर्नुपर्ने बताउनुभयो ।
सूचना आयोगका सदस्य गगन बिष्टले सूचनाका हकको प्रभावकारी कार्यान्वयन र त्यसको महत्वका विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै सूचनाको हक आमजनतामा स्थापित हुनुपर्ने बताउनुभयो ।
आयोगका सचिव कमलप्रसाद भट्टराई तथा कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका उपसचिव अर्जुन निरौलाले सूचनाको हकको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाका सरकारी कार्यालयका प्रमुख, स्थानीय तह तथा कार्यालयका सूचना अधिकारी, पत्रकार तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।
सो अवसरमा सहभागीहरूले सूचनाको हकको प्रयोग गर्दा वा सूचना प्रवाह गर्दा भोग्नुपरेका समस्याका विषयमा जानकारी गराउनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्