तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर विद्यालय समाचार वाचन प्रतियोगितामा १७ विद्यालय सहभागी

काठमाडौँ  । काठमाडौँस्थित गोल्डेन गार्डेन एकेडेमी र स्कुलहरूको सञ्जाल (स्याट)को समन्वयमा भएको अन्तर विद्यालय समाचार वाचन प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यार्थीको सञ्चार सीप विकासमा सघाउने उद्देश्यले गरिएको सो प्रतियोगितामा काठमाडौँका विभिन्न १७ विद्यालयका विद्यार्थीले सहभागिता जनाएका छन् ।

सो अवसरमा गोल्डेन गार्डेन एकेडेमीका निर्देशक प्रदीप भट्टराईले यस किसिमको कार्यक्रमले आमसञ्चारको क्षेत्रमा भविष्य बनाउन चाहने विद्यार्थीलाई थप मदत पुग्न सक्ने बताउनुभयो । 

उहाँले विगत चार वर्षदेखि विद्यालयले हरेक वर्ष अन्तर विद्यालय समाचार वाचन प्रतियोगिता गर्दै आएको जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपाली समाचार वाचनतर्फ स्याम्तेन स्कुलका स्तुति खड्का प्रथम, सेन्ट जर्जका दिव्या बोहरा द्वितीय र ब्रेन ल्यान्ड स्कुलका केदार विक तृतीय भएका छन् ।

यस्तै, अङ्ग्रेजी समाचार वाचनतर्फ सेन्ट जर्जका श्रुति राई प्रथम, विनायक स्कुलका अश्मि मानन्धर द्वितीय र ब्रुकलिन एकेडेमीका रक्षा खड्का तृतीय भएका छन् । 

कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button