तपाईँ सुन्दै हुनुहुन्छः

शीतलहरबाट दलित मुसहर परिवार समस्यामा

बरहथवा (सर्लाही)।चिसो र शीतलहरको जोखिममा यहाँका विपन्न दलित मुसहर परिवार परेका छन् । अत्यधिक चिसोले मुसहर परिवार केही दिनयता समस्यामा परेका हुन ।

बसवरिया गाउँपालिका–३ नाकैमा अन्तरगतको मुसहर माझी बस्ती छ । उक्त वस्तीमा झण्डै ४५ परिवार मुसहर जसोतसो खरको झुपडीमा जीवन धानिरहेका छन् । अन्य समयमा अवस्था सामान्य भएपनि बर्सातको डुबान र हिउँदको ठण्डीले उहाँहरूलाई निकै पिरोल्छ । यस बस्तीका बालबालिका र वृद्ध वृद्धा निकै सकसपूर्ण जीवन व्यतित गरिरहेका छन् ।

सोही बस्तीमा १० दिनकी सुत्केरी जोनिता माझी अत्यन्त कष्टले दिन रात काटिरहनु भएको छ । चिसो दिन प्रतिदिन बढ्दै जाँदा नवजात शिशु र आफूलाई लगाउने न्यानो कपडासमेत नभएको उहाँले गुनासो गर्नुभयो । खरले छाएको मुस्किलले चार जना टुसुक्क बस्न मिल्ने ठाउँमा पराल ओच्छ्याएर उहाँले बिस्तरा बनाउनुभएको छ । त्यसैमा उहाँको १० दिनको शिशु पनि सुताउनुभएको छ ।

दैनिक ज्याला मजदुरी गर्नु पर्ने परिवार चिसोका कारण बाहिर निस्कनसमेत नपाएका कारण दुई छाकको जोहोसमेत गर्न समस्या परेको उहाँकी सासु जितनी देवी माझीले बताउनुभयो । “भुइको चिसो पनि आउँछ ।” सुत्केरी माझीले भन्नुभयो, “माथिबाट शीत चुहिरहन्छ । ओड्ने कुरा पनि राम्रो छैन् । बाँसको टाटीको प्वालबाट छिरेको चिसो स्याँठले मुटु छेडेर जान्छ ।”

जोनिताजस्तै सोही बस्तीकी २१ वर्षीया पुनीता माझीले पनि गत कात्तिकमा तेस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिनुभयो । सुरुमा चिसो कम हुँदा जसोतसो दिन रात कटाउनु भएकी उहाँलाई शीतलहर सुरु भएपछि भने समस्या भएको बताउनुभयो । चिसोले रातभरि शिशु रोएर नसुत्ने उहाँले दुखेसो पोख्नुभयो । चिसोका कारण आफू पनि निकै पटक बिरामी परिसकेको उहाँको भनाइ थियो ।

पुनिताका श्रीमान् पन्निलाल माझी र ससुरा हरिन्द्र माझी पनि मजदुरीका लागि पन्जाव पुग्नुभएको छ । श्रीमान्ले कमाएर ल्याउलान र मिठो मसिनो खाने तथा बालबच्चा र आफूसमेतले न्यानो कपडा लगाउने आशमा रहेको पुनिताले बताउनुभयो । कमाइ जम्मा भएपछि पठाउँछु भनेर श्रीमानले भन्नुभएको उहाँले सुनाउनुभयो । सुत्ने ओछ्यान नजिकै बालेको घुर हेरेर रात कटाउने गरेको उहाँको दुखेसो छ ।

बस्तीकै अर्को कुनामा रहेको सानो बासको टाँटी र खरको मुस्किलले भित्र छिर्न मिल्ने छाप्रोमा २० वर्षकी विना माझी महिना दिनको छोरा च्यापेर बसिरहनु भएको छ । “भुइमा राख्यो की चिसोले बच्चा रोही हाल्छ,” उहाँले भन्नुभयो, “छातीमा च्यापी राख्यो भने न्यानो हुन्छ क्यार रुदैन ।” मङ्सिर अन्तिममा जन्मिएको छोराले पेटभरि दूधसमेत खान नपाएको उहाँले गुनासो गर्नुभयो ।

चिसो बढेकाले परिवारको अन्य सदस्य मजदुरीमा जान नसक्दा आफूसमेतले कयैँन रात भोकै बस्नुपरेको भन्दै शिशुलाई खुवाउन दूध नआएको उहाँले सुनाउनुभयो । बिनाका श्रीमान् पनि पन्जाबमा उखु काट्ने मजदुरको काम गरिरहनुभएको छ । सिजन सकिएपछि घर आउने उहाँको तयारी रहेको विनाले बताउनुभयो । तर, आफू र शिशुलाई चिसोले धेरै सताइरहेको उहाँ गुनासो गर्नुहुन्छ ।

यस बस्तीमा चिसो सुरु भएपछि बच्चा जन्माएका अन्य आमा र शिशुको अवस्था उस्तै छ । न्यानो कपडा त परको कुरा दैनिक छाकको जोहोसमेत गर्न सबैको मुस्किल छ । अधिकांश परिवारका पुरुष कृषि मजदुरी गर्न भारतको पन्जाब गएका छन् । उहाँहरु तीनदेखि चार महिनाको अन्तरमा केही कमाएर घर फर्कने गरेका बसवरिया गाउँपालिका–३, की वडासदस्य सिता देवी माझीले बताउनुभयो ।

त्यति बेलासम्म परिवारले भोकै प्यासै बस्नुपर्ने वस्तीको बाध्यता रहेको उहाँले बताउनुहुन्छ । विपन्न परिवारका उनीहरूलाई सरसापटसमेत कसैले नपत्याउने भएकाले बनिबुतो यस बस्तीको एकमात्र जीवन धान्ने आधार रहेको वडासदस्य सिता देवीको भनाइ छ । वर्षामा पानीमा डुब्नु र हिउँदमा चिसोले कठ्याङ्ग्रिनु यस बस्तीको नियमित नियति रहेको उहाँ सुनाउनुभयो ।

बस्तीका अन्य परिवारले पनि दिन रात घुर तापेर चिसो छल्ने प्रयास गरिरहेको बताएका छन् । व्यवस्थित बस्ने बाससमेत नभएका आफूहरूको लागि जाडो काल बनेर आउने गरेको स्थानीय मनवा देवी माझीले दुखेसो पोख्नुभयो । गत वर्ष जाडोमा केही सामाजिक सङ्घ संस्थाले दिएका न्यानो कपडाको भरमा जाडो छलिरहेको उहाँको भनाइ थियो । “पहिला पाएको केही ओढ्नेले यस वर्ष पनि चिसो छेक्दै छु ।” उहाँले भन्नुभयो, “यस पटक पाएको छैन्, चिसो धेरै भयो भने निन्द्रा लाग्दैन । रात भरी आगो तापेर जागै बस्छु ।”

स्थानीय पालिकाले विपन्नलाई राहत दिँदा सम्पन्नले पनि माग्ने भन्दै नदिने गरेका लक्षुमनिया देवीको भनाइ छ । गाउँ पालिकामा माग्न जाँदा भएकाले पनि माग्छन् । तिमीलाई कसरी दिनु भनेर त्यसै फर्काउने गरेका उहाँको गुनासो छ । आफू सबै ठाउँबाट चपेटामा परेको भन्दै विपन्न मुसहर परिवारले कष्टपूर्ण तरिकाले चिसोको करहबाट बाच्ने उपाय गरिरहेको उहाँले बताउनुभयो ।

यता गाउँपालिकाले विगतमा राहतको व्यवस्था गरेको भएपछि यस पटक केही ढिला भएको पालिका अध्यक्ष रामसिंहासन रायले जानकारी दिनुभयो । मुसहर परिवारको अवस्था दयनीय रहेको कुरा जानकारी नआएको भन्दै अध्यक्ष रायले त्यस्तो अवस्था भए बुझेर राहत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विपन्नका लागि ल्याएको योजनामा विपक्षी र सम्पन्नले काम नै गर्न नदिने गरेको उहाँको गुनासो थियो ।

“यस गाउँका पाँच परिवारको घर गत चैतमा आगोले जलेर नष्ट भयो ।” उहाँले भन्नुभयो, “हामीले सिफारिस गरेर पठायौँ । पछि राजनीति गरेर अनेक गरेपछि उहाँहरूसमेतले जिल्ला विपद्मार्फत पाउने घर बनाउने पैसा पाउनुभएको छैन् । सुरुमा पालिकाले १०÷१० हजार नगद र केही खाद्यानन्न दिएका थियो ।” मधेशमा काम गर्न नदिने र गरेन भनेर बदनाम गर्ने प्रवृत्ति व्यापक बनेको उहाँले बताउनुभयो ।

आगलागीबाट घरबार गुमाएका परिवार अहिले पनि चिसोमा आफन्तको कहाँ बसिरहनु भएको छ । आगोले उक्त वस्तीमा रहेको विन्देश्वर माझी, रामविश्वास माझी, दिनेश माझी, जोखु मुखिया र गुलरी देवीको घर जलेर पूर्णरुपमा नष्ट भएको थियो । भने, रासनारायण माझी, मिश्री माझी, हरिनु माझी, नरेश राय, राजकिशोर मुखिया र गोपी मुखियाको घरमा आंशिक क्षति पुगेको वडा सदस्य सितादेवी माझीले बताउनुभयो ।सिंगबहादुर थापा / रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button