तपाईँ सुन्दै हुनुहुन्छः

डोटी बालसुधार गृहमा क्षमता भन्दा तेब्बर बालक

डोटी । डोटी जिल्ला सदरमुकाम सिलगढी अवस्थित बाल सुधार गृहमा क्षमता भन्दा तेब्बर बालकहरू हुँदा व्यवस्थापनमा चुनौती देखिएको छ । 

२५ जनाको क्षमता भएको उक्त बाल सुधार गृहमा हाल ६३ जना बालक हुँदा सुधार गृह व्यवस्थापनमा विभिन्न समस्या खेप्नु परेको बाल सुधार गृहले जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेशभरिमा एक मात्र बाल सुधार गृह भएकाले क्षमता भन्दा बढी बालक राख्नुपर्ने बाध्यता रहेको प्रमुख सानुमाया लिम्बूले बताउनुभयो । 

संघीय सरकारअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सञ्चालित उक्त सुधार गृहमा १८ वर्षमुनिका विभिन्न अभियोग लागेका तथा फैसला भएका बालकहरूलाई राख्ने व्यवस्था छ। तर, बालबालिका ऐन २०७५ का प्रावधानअनुसार बाल उमेरमा अभियोग लागेर फैसला भइसकेपछि १८ वर्ष कटेका बालकहरूलाई समेत सुधार गृहमा राख्नु परेको लिम्बूले बताउनुभयो । 

उहाँकाअनुसार सुधार गृहमा रहेका ६३ बालकहरूमध्ये ३८ जनाको अदालतबाट फैसला भइसकेको छ भने बाँकी २५ जनाको अदालती प्रक्रिया जारी रहेको छ

बाल सुधार गृहको लागि छुट्टै मापदण्डअनुसार भवन नहुँदा हाल पुरानै भवनमा सञ्चालन आवासीय, सुरक्षात्मक र व्यवस्थापन पक्षमा गम्भीर समस्या लेखिएको बाल सुधार गृह व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो । प्रदेशस्तरीय सुरक्षा बैठक तथा मन्त्रालयलाई बारम्बार ध्यानाकर्षण गराइए पनि समस्या समाधानका लागि कुनै ठोस कदम नचालेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button