प्रधानमन्त्रीबाट बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको भर्चुअलरुपमा उद्घाटन
'सुरुङ्गमार्ग समयमै सम्पन्न हुन्छ: प्रधानमन्त्री '
पाल्पा । प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धबाबा सुरुङ्गमार्ग समयमै’ ‘ब्रेक थ्रु’ भएको र बाँकी काम पनि समयमै सम्पन्न हुने बताउनुभएको छ ।
आज बगनासकाली गाउँपालिकाको नवनिर्मित अत्याधुनिक प्रशासकीय भवनको भर्चुअल माध्यमबाट उद्घाटन गर्न प्रधानमन्त्री ओली सुरुङ्गमार्ग निर्माणले गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटनका क्रममा पाल्पा घरेलु तथा कुटिर उद्योगको लागि प्रख्यात रहेकाले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन घरेलु कुटिर उद्योग र कृषिमा जोडदिन स्थानीय सरकारलाई निर्देशन दिनुभयो ।
प्रधानमन्त्री ओलीले “यस प्रशासकीय भवनले एउटा प्रशासकीय भवन नयाँ बन्यो मात्रै होइन जनतालाई नयाँ अनुभूति हुने गरि विकासका लागि मार्गदर्शक हुने सेवा प्रवाह अगाडी बढोस् ” भन्ने शुभकामना ब्यक्त गर्नुभयो । प्रधानमन्त्रीले पाल्पा राष्ट्रियता जोगाउने सन्दर्भमा पनि अगाडी रहेकाले त्यो भावना अटल रहोस् भन्दै शुभकामना दिनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल सरकारका उप प्रधान तथा शहरी बिकास मन्त्री प्रकाशमान सिंहले गाउँपालिकाले दिने सेवा प्रवाह सहज हुने विश्वास ब्यक्त गर्नुभयो । उहाँले संविधानको एकात्मक व्यवस्था अन्त्य गरि संधात्मक व्यवस्था कार्यान्वयन गर्न सबै स्थानीय तहलाई सुविधा सम्पन्न गराउनको लागि ६०/४० को अवधारणा अनुसार कार्यान्वयन गरेको बताउनुभयो ।
त्यस्तै उद्घाटन समारोह कार्यक्रममा नेपाल सरकारका उप प्रधान तथा अर्थ मन्त्री बिष्णु प्रसाद पौडेलले पाल्पाको विकासको सवालमा नेपाल सरकार जानकार रहेको बताउनुभयो । उहाँले सिद्धार्थ राजमार्गको स्तरउन्नती हुने बताउँदै कालिगण्डकी ड्राईभर्सन गर्ने योजनाले पनि पाल्पाको विकासमा टेवा पुग्ने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले कालिगण्डकी कोरिडोर निमार्णले पाल्पालाई आर्थिक रुपमा योगदान पुर्याएको बताउँदै सरकारले आवश्यकता भएर अध्यादेश ल्याएको बताउनुभयो उहाँले उक्त अध्यादेशले अनेकौँ अवरोधहरू हटाउँदै देशमा लगानी र उत्पादकत्व वृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो ।
बगनासकाली गाउँपालिकाको भवन निर्माणको जिम्मा पाएको न्यू ड्रयागन आर एण्ड आ जेभीले २०७८ फागुन ८ गते निर्माण सुरुगरि २०८० फागुन २ गते निमार्ण सम्पन्न गरेको बगनासकाली गाउँपालिकाको नवनिर्मित ४ तले भवनमा १९ वटा कोठा रहेका छन् । भवन निमार्ण सम्पन्न गर्नकालागि भ्याटबाहेक ५ करोड ६७ लाख ४९ हजार १४७ रुपैयाँ लगानी लागेको छ । जसमा स्थानीय सरकारको ४० प्रतिशत र सङ्घीय सरकारको ६० प्रतिशत हिस्सा रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्