सडक दुर्घटना: बाँकेमा ३ महिनामा २० जनाको मृत्यु
नेपालगन्ज । बाँके जिल्लामा पछिल्लो तीन महिनामा सडक दुर्घटनामा परी २० जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार यस अवधिमा भएका १ सय ३५ वटा सवारी दुर्घटनामा २० जनाको मृत्यु भएको हो ।
ट्राफिक प्रहरी कार्यालयले कार्तिक, मङ्सिर र पुस गरी ३ महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गरेका ८ हजार ७ सय ७५ सवारीसाधनलाई कारबाही गर्दै ७५ लाख १८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
तीन महिनाको अवधिमा भएका सबै दुर्घटनामा गम्भीर घाइतेको सङ्ख्या २१ पुग्दा १ सय ६५ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । जस अनुसार कात्तिकमा मात्रै २० वटा दुर्घटनामा ८ जनाको मृत्यु थियो भने गम्भीर र सामान्य घाइतेको सङ्ख्या क्रमशः ७ र १७ रहेको छ ।
त्यसैगरी मंसिरमा भएको ४० सवारी दुर्घटनामा मृतकको सङ्ख्या ३ हुँदा गम्भीर घाइते ११ र सामान्यतर्फ ३८ जना रहेका थिए । पुसमा ७५ सवारी दुर्घटना हुँदा ९ जनाको मृत्यु हुँदा ३ जना गम्भीर घाइते र ६५ जना सामान्य घाइते भएको बाँके ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार पुसमा दुर्घटना र मृतकसँगै घाइतेको सङ्ख्या बढ्नुमा हुस्सु र कुहिरो प्रमुख कारण रहेको छ । जिल्ला ट्राफिक प्रहरीले पुसमा हुस्सु र कुहिरोका कारण अत्यधिक दुर्घटना भएपछि सार्वजनिक सूचना जारी गर्दै गति कम गरेर सवारी चलाउन अपिल गरेको थियो ।
जिल्ला ट्राफिक प्रहरी बाँकेले ३ महिनामा ५९१ पटक ट्राफिक प्रहरी सचेतना कार्यक्रम गर्दा २९ हजार ६ सय ७७ जना लाभान्वित भएका छन् । यस अवधिमा ट्राफिक प्रहरी बाँकेले हुस्सु र कुहिरोले दुर्घटना निम्त्याउन सक्ने भन्दै सवारीको गति कम गर्न रातको समयमा सवारीसाधनमा रिफ्लेक्टभ स्टिकर टाँसेर सवारी चलाउन आग्रह गर्दै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्