तपाईँ सुन्दै हुनुहुन्छः

१८ गतेबाट सदनभित्र पनि नयाँ सङ्घर्ष सुरु गर्ने प्रचण्डको दाबी 

बाँके । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले नयाँ सङ्घर्षको थालनी गरेको जनाउँदै आफ्नो सङ्घर्ष शान्तिपूर्ण भएपनि सशक्त रहने जिकिर गर्नुभयो । १८ गतेबाट सदनभित्र पनि नयाँ सङ्घर्ष सुरु गर्ने जनाउँदै उहाँले जनता हारेको इतिहास नभएको स्पष्ट पार्नुभयो ।

बाँकेको खजुरामा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले समानुपातिक र समावेशी संविधान परिवर्तन गर्ने प्रयास भइरहेको तर माओवादीले कुनै पनि हालतमा परिवर्तनका उपलब्धिहरूलाई खोसिन नदिने बताउनुभयो ।

बाँकेको खजुरा गाउँपालिका स्तरीय पार्टीको अधिवेशनको बिहीबार उद्घाटन एवं खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकार सञ्चालन र समीकरणका क्रममा पार्टीबाट पनि केही कमजोरी भएको स्वीकार गर्नु भयो । कहिले कांग्रेस कहिले एमालेसँग गठबन्धन गर्दा माओवादीको पहिचान मेटिने अवस्था आएको बताउँदै उहाँले आगामी निर्वाचनमा भ्रष्टाचारीहरूसँग कुनै गठबन्धन नगरी माओवादी एक्लै उभिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रचण्डले आफु नेतृत्वको सरकारले भ्रष्टाचारीहरूलाई कानूनी दायरामा ल्याउने काम गर्दै गर्दा अचम्म गरी समीकरण बनेको बताउनुभयो । ‘संसदीय व्यवस्थामा ठुला दुई दल मिलेर सरकार बनाएको इतिहास छैन’ प्रचण्डले, ‘यो सरकार अस्वाभाविक र अप्राकृतिक छ र ढल्न आवश्यक छ ।’ उहाँले अहिले भ्रष्टाचार गर्नेहरू संसदमा धेरै र भ्रष्टाचारका विरुद्ध लाग्नेहरूको सङ्ख्या कम भएको अवस्था जिकिर गर्नुभयो ।

झण्डै ४० वर्ष अघि पञ्चायती व्यवस्था हुँदा खजुरामा आएको स्मरण ताजै रहेको बताउँदै अध्यक्ष प्रचण्डले जनआन्दोलन र जनयुद्धमा खजुराले खेलेको भूमिकाको उच्च प्रशंसा गरे । उनले खजुराको विकास र समृद्धिका लागि सधैँ लागिरहने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button