तपाईँ सुन्दै हुनुहुन्छः

१० महिनादेखि सल्यान जिल्ला अस्पतालको भवन अलपत्र 

सल्यान । विगत दश महिना देखि सल्यान जिल्ला अस्पतालको भवन निर्माण कार्य अलपत्र परेको छ । अस्पताल परिसरमा निर्माणाधीन दुई भवन  दश महिनादेखि अलपत्र परेको हो । 

जिल्ला अस्पताललाई ५० शय्यामा विस्तार गर्न संघीय सरकारको १८ करोड बजेटमा २०७८ वैशाखमा आरोग्य सुवेदी जेभी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । विभिन्न कारण जनाउँदै निर्माण कम्पनीले सम्झौता गरेको एक वर्षपछि निर्माण शुरु गरेको थियो । अहिले भवन निर्माणको काम अलपत्र परेको छ । 

दुईवटा भवनको करिब ६० प्रतिशत काम सकिए पनि बाँकी रहेको काम कहिलेबाट शुरु हुन्छ भन्ने अझै निश्चित नभएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढा मगरले बताउनु भयो । उहाँले भन्नु भयो ‘ठेकेदारले काम गरिरहेकै थियो, सात महिनामा करिब ६० प्रतिशत काम गरेकै हो, २०८० चैतमा म्याद सकियो, म्याद थपका लागि चाहिने कागजात निर्माण कम्पनीले बेलैमा बुझाएन, त्यही भएर त्यति बेला म्याद थप हुन सकेन, अहिले समय निकै घर्किसकेको छ, अब यताबाट हामीले गर्नसक्ने पहुँचको कुरा भएन ।‘ 

निर्माण व्यवसायीको चौधौँ संस्करण मन्त्रिपरिषद्बाट पास भएपछि मात्रै म्याद थप हुने भएकाले त्यही निर्णयलाई पर्खेर बसेको डा. बुढाको भनाई छ ।  जिल्ला अस्पतालमा पर्याप्त संरचना नहुँदा थप स्तरीय सेवा प्रवाह गर्न समस्या भइरहेको उहाँले बताउनु भयो । समयमै भवन निर्माण भए डायलासिस, भेन्टिलेटर सहितका विशेषज्ञ सेवा प्रवाह गर्न सहज हुने डा. बुढा मगरको भनाइ छ । 

यसै वर्षदेखि डायलिसिसको सेवा सुचारु गर्ने योजना भए पनि भवनकै कारण नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नु भयो ‘भवन अभावकै कारण डायलिसिसको काम यसै वर्षबाट शुरु गर्न नसक्ने अवस्था आयो, अस्पतालमा पाँचवटा भेन्टिलेटर छन्, कम्तीमा तीनवटा भेन्टिलेटर राखेर एचडियु सेवा सुचारु गर्ने योजना थियो तर भवन अभावकै कारण गर्न सकिएन, अस्पताललाई निकै मर्का परेको  छ ।’

अस्पतालमा अहिले दैनिक १२० बढी बिरामी उपचारका लागि आउने गर्दछन् । बिरामीको चाप धेरै भए पछि १५ शय्याको अस्पतालमा ३५ बेड थपेर ५० शय्याबाट सेवा प्रवाह भइरहेको छ । सम्बन्धित निकायले बेलैमा ध्यान नदिँदा अस्पतालको भवन अलपत्र परेको नागरिक अगुवा सनतकुमार शर्माले बताउनुभयो ।उहाँले भन्नु भयो  ‘निर्माण कम्पनी, अस्पताल प्रशासन, अस्पताल विकास समिति, तीनै तहका सरकार यसमा जिम्मेवार बन्नुपर्छ, अस्पताल जस्तो संवेदनशील क्षेत्रमा भौतिक संरचना निर्माण कार्य अलपत्र पार्नु राम्रो होइन ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button