नेपालमा बाह्य मिचाहा प्रजातिको असर
'पर्यावरण, कृषि र अर्थतन्त्रका लागि चुनौती बन्न सक्ने विज्ञहरुको भनाई'
काठमाडाैँ । नेपालमा बाह्य मिचाहा प्रजातिले समग्र जैविक विविधतामा प्रभाव पारिरहेको अध्ययनहरूले देखाएको छ । इन्भासिस स्पेसीस अर्थात् बाह्य मिचाहा प्रजातिका वनस्पति तराई र मध्य पहाडी क्षेत्रमा सबैभन्दा बढी फैलिँदै गएको पाइएको छ ।
माइकेनिया मिक्रान्था वैज्ञानिक नाम गरेको दक्षिण अमेरिकाको एक रैथाने वनस्पतिलाई नेपालमा लहरे बनमारा नामले चिनिन्छ । मिचाहा प्रजाति मध्ये लहरे बनमारालाई संसारकै अति खराब प्रजातिका रुपमा पहिचान गरिएको छ भने यो प्रजातिको बनमाराले खुला जमिन, मलिलो माटो र चिस्यान बढी भएको ठाउँमा सजिलै अतिक्रमण गरी जमिन, स्थानीय वनस्पति,जीवजन्तु र पर्यावरणीय चक्रलाई समेत असर गर्ने अनुसन्धानकर्ता हरुको भनाई छ । यो लहरे बनमारा कर्णाली र सुदूरपश्चिम प्रदेश बाहेकका ३० भन्दा बढी जिल्लामा फैलिइसकेको पाइएको छ ।
नेपालमा काडे,लहरे, सेतो र कालो बनमाराको नामले चिनिने यस्ता प्रजाति कुनै न कुनै माध्यमले बाह्य मुलुकबाट भित्रिएका हुन् । यसरी भित्रिएका मिचाहा वनस्पतिले समग्र जैविक विविधतामा प्रभाव पारिरहेको त्रिभुवन विश्वविद्यालय केन्द्रिय वनस्पति विभागका प्राध्यापक डा. भरतबाबु श्रेष्ठ बताउनुहुन्छ ।
उहाँले रैथाने जीव जनावरलाई विस्थापित गर्ने,वासस्थानलाई बिगार्ने, सिमसार क्षेत्रमा अर्था जलचर क्षेत्रमा पाईने जीवलाई हानि गर्नुका साथै कृषि उत्पादन र मानव स्वास्थ्यमा समेत असर पुर्याइरहेको बताउनुभयो ।
मिचाहा प्रजातिको जोखिममा रहेका १ सय २४ वटा मुलुकमा गरिएको अध्ययनले नेपाल जोखिमका तेस्रो स्थानमा रहेको देखाएको छ । नेपालको तराई मध्य पूर्व क्षेत्रमा गरिएको एक अध्ययनमा बन, कृषि,सिमसार र खुला क्षेत्रहरूमा मिचाहा प्रजाति फैलिँदै गएको र ती स्रोतमा निर्भर रहेका स्थानीयको जीवनयापनमा प्रत्यक्ष असर पुर्याएको पाइएको फोरेष्ट एक्सन नेपालका जैविक विविधता तथा पुनर्स्थापना कार्यक्रमका टिम लिडर डा. लिलानाथ शर्माले जानकारी दिनुभयो ।
डा. शर्माले मिचाहा प्रजातिले बनजंगलमा ढाक्दै गएको र बनपैदावरमा कमी हुँदा यसमा आश्रित स्थानीयहरूलाई दैनिक जीवनयापनमा नोक्सान भइरहेको बताउनुभयो ।
उहाँले नेपालको पूर्वी क्षेत्रमा उल्टा काडा नामक मिचाहा प्रजाति खादाँ २ सय ५० वटा गोरु र गाई र ५ सय वटा बाख्रा मरेको पाइएको उल्लेख गर्नुभयो । डा. शर्माले यस्ता मिचाहा प्रजातिका कारण अझ बढी पशुचौपाया मरेको हुनसक्ने भन्नुहुँदै यसको खोज अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो ।
मिचाहा प्रजाति द्रुत गतिमा फैलँदै गए निकट भविष्यमा पर्यावरण, कृषि र समग्र अर्थतन्त्रका लागि चुनौती बन्न सक्ने भएकोले पर्याप्त अनुसन्धान र बाह्य मुलुकबाट भित्रने प्रजातिको परिक्षण तथा क्वारेनटाइन गर्नुपर्ने सुझाव प्राध्यापक डा. श्रेष्ठ दिनुहुन्छ ।
नेपालमा हालसम्म ५० प्रकारका विभिन्न वनस्पति तथा जीव मिचाहा प्रजाति भित्रिएको र यसले रैथाने वनस्पति, जल, जमिन र समग्र कृषि प्रणालीमा असर पुर्याइरहेको अवस्थामा यस्ता मिचाहा प्रजातिको रोकथामका लागि तीनै तहको सरकार, स्थानीय कृषि समूह एवं सबै सरोकारवालाहरू यसको व्यवस्थापनमा समयमै ध्यान पुर्याउन जरुरी देखिन्छ ।
प्रतिक्रिया राख्नुहोस्