तपाईँ सुन्दै हुनुहुन्छः

कमलबजार विमानस्थल सञ्चालन गर्न माग: यात्रु नपाए पालिकाले टिकटको पैसा बेहोर्ने  

अछाम । अछामको कमलबजारको विमानस्थल सञ्चालनका लागि विभिन्न स्थानीय तहले माग गरेका छन् । सदरमुकाम मङ्गलसेनमा बसेको विभिन्न छ वटा स्थानीय तहका प्रमुखको बैठकले कमलबजारमा विमानस्थल सञ्चालन गरी हप्ताको एक दिन न्यूनतम तीन महिना विमान चलाउनका लागि आवश्यक सहयोग गर्न सहमति गरेका छन् । कमलबजार नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, मङ्गलसेन नगरपालिका, ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका र रामारोशन गाउँपालिकाले नियमित विमान सञ्चालनमा सहयोगी हुने भएका हुन् ।

विसं २०४९ मा कमलबजार विमानस्थलको निर्माण प्रारम्भ गरिएको थियो । निर्माण सम्पन्न भएर विमान उडानको पर्खाइमा रहेको कमलबजार विमानस्थलको रिपिटर टावरमा २०५८ सालमा तत्कालीन नेकपा माओवादीको आक्रमणले विमानस्थल बन्द थियो । ३२ वर्षपछि गत पुस १३ गते तारा एयरको विमानले कमलबजार विमानस्थलको परीक्षण उडान गरेको थियो ।

कमलबजार विमानस्थल नियमित सञ्चालनका लागि स्थानीयस्तरमा दबाब हुँदै आएको छ । कमलबजारमा नियमित विमान चलेपछि यस क्षेत्रको यातायात, पर्यटन र आर्थिक विकासमा सहजता हुने अनुमान गरिएको छ । निजी स्तरको विमानलाई हप्ताको एक दिन नियमित उडानमा यात्रु अभाव बापतको टिकट खर्च स्थानीय तहले बेहोर्ने सहमति गरेका हुन् । कमलबजार आउने र जाने प्रत्येक उडानका क्रममा कम यात्रु सिटको रकम स्थानीय तहले तिर्नुपर्ने छ । खाली भएको यात्रु सिटमध्येमा ५० प्रतिशत सिटको कमलबजार नगरपालिका र बाँकी रहेका अन्य सिटको पाँच स्थानीय तहले रकम बेहोर्ने भएका हुन् । विमान नियमित भएमा यात्रु अभाव नहुने र स्थानीय तहलाई टिकटको भार नपर्ने पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेको भनाइ छ । कमलबजारबाट नेपालगन्ज उडानलाई अहिले प्राथमिकता दिइएको छ भने आवश्यकता अनुसार उडान गर्ने योजना रहेको बताइएको छ । नियमित उडानमा आशङ्का व्यक्त गरिएकोमा कमलबजार नगरप्रमुख ढकालले विमान कम्पनीसँगको सम्झौतामा कडाइका साथ कुरा राख्ने भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button