सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा-प्रतिष्ठानको विधेयक पारित
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’सर्वसम्मतिले पारित गरेको छ ।
सामाजिक विकासमन्त्री मेघराज खड्काले बैठकमा उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो ।
यसअघि विधेयक माथि भएको छलफलमा प्रदेशसभा सदस्य पदमबहादुर शाही, चक्रबहादुर मल्ल, लक्ष्मी विक, खुशीराम डगौरा थारु, ताराप्रसाद जोशी र नरेशकुमार शाहीले भाग लिनुभएको थियो । त्यसपछि सामाजिक विकासमन्त्री खड्काले छलफलका क्रममा उठान भएका प्रश्नको जवाफ दिनुभएको थियो ।
संशोधित विधेयकमा प्रतिष्ठानको प्राज्ञ सभाको सङ्ख्या साबिकको भन्दा थप गरिएको छ । साथै प्रतिष्ठानका कुलपति मुख्यमन्त्री र सहकुलपति सामाजिक विकासमन्त्री रहने साबिकको व्यवस्थालाई प्रतिस्थापन गर्दै प्राज्ञ व्यक्तिलाई नै कुलपति र उपकुलपति नियुक्त गनुपर्नेलगायतको व्यवस्था गरिएको छ ।
मुख्यमन्त्रीलाई प्रज्ञा–प्रतिष्ठानको प्रमुख संरक्षक र सामाजिक विकास मन्त्रीलाई संरक्षक रहने व्यवस्था गरिएको छ । आजको बैठकले प्रदेशसभा, सार्वजनिक लेखा समितिका ज्येष्ठ सदस्य विक्रमसिंह धामीले सार्वजनिक लेखा समितिको दोस्रो प्रतिवेदन २०८१ लाई स्वीकृत गरियोस् भनी पेस गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । रासस
प्रतिक्रिया राख्नुहोस्