तपाईँ सुन्दै हुनुहुन्छः

छाडा चौपाया छोड्नेलाई सिद्धार्थनगर पालिकामा सात हजार जरिवाना

रुपन्देही । आफ्ना चौपायाहरु जथाभाबी छाडा छोड्नेलाई सिद्धार्थनगर नगरपालिकाले सात हजार जरिवाना गर्ने निर्णय गरेको छ ।

नगरमा छाडा गाईवस्तु बढ्न थालेपछि नियन्त्रणका लागि सिद्धार्थनगर नगरपालिकाले गत हप्तादेखी अभियान सञ्चालन गरिरहेको छ ।

अभियान अन्तरगत हालसम्म ७८ वटा गाई गोरुको व्यवस्थापन गरिएको छ । त्यसमध्ये छाडा चौपाया आफ्नो भनि दाबी गर्न आएका दुई जनालाई सात हजार जरिवाना गरेर गाई जिम्मा लगाइएको नगरपालिकाका प्रवक्ता एवं छाडा चौपाया नियन्त्रण अभियानका संयोजक भोला यादवले जानकारी दिनुभयो । छाडा चौपाया नियन्त्रणका लागी स्थानीय सरकारले गरेको निर्णय बमोजिम पहिलो पटकलाई सात हजार जरिवाना गराई अब देखि छाडा नछोड्ने सर्तमा सम्बन्धित धनीलाई जिम्मा लगाइएको हो ।

बजारमा छाडारुपमा हिँडिरहेका चौपायाहरूलाई नियन्त्रणमा लिएर अस्थाई होल्डिन सेन्टरमा राखिएको र त्यहाँबाट कपिलवस्तुको बाणंगगा नगरपालिका वडा नं २ मा रहेको गौशालामा लगेर व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । 

छाडा चौपायाले सडकमा सवारी साधन र यात्रुलाई अवरोध गर्नुका साथै किसानको कृषि उपज खाइदिन थालेपछि छाडा चौपायाको व्यवस्थापन गर्न अभियान थालिएको सिद्धार्थनगर नगरपालिकाका मेयर ईस्तिायक अहमद खानले जानकारी दिनुभयो ।

‘विशेषगरी छाडा गाई गोरुले नगरमा बढी समस्या ल्याएको छ,’ उहाँले भन्नुभयो ‘छाडा गाईगोरुका कारण सडक दुर्घटनाको जोखिमको साथै मलमूत्रले नगर दुर्गन्ध र किसानले आफ्नो कृषि उपज खाइदिने गरेको गुनासो गर्ने गरेका छन् ।’

नियन्त्रणमा लिइएको गाई गोरु कसैले आफ्नो भनी दाबी गर्न आएमा न्यूनतम ७ हजार जरिवाना तिराएर दिइने अन्यथा नियन्त्रणमा लिइएका गाई गोरुलाई गौशाला लगिने गरिएको छ ।

सिद्धार्थनगरमा बर्सेनि छाडा गाई गोरुको समस्या विकराल बन्ने गरेको छ । गाई पाल्ने किसानले बाच्छो जन्मेको केही दिनमै माउसँग छुटाउन बजारमा छाडिदिने, दूध दिन छाडेपछि गाईलाई घरबाट लखेट्ने र केही किसानले दिनभरि बजारका फलफूल, तरकारी पुल आसपास छाडी रात परेपछि घर लैजाने प्रचलनले नगरमा छाडा गाई गोरुको समस्या बर्सेनि दोहोरिने गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिनुभयो ।

 नगर प्रमुख इस्तियाक अहमद खाँले सिद्धार्थनगरमा छाडा गाईगोरु तथा चौपाया नियन्त्रणका लागि लगातार तेस्रो वर्षसम्म अभियान सञ्चालन गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button