सरकारप्रति हाम्रो कुनै अभिरुचि छैन: प्रचण्ड

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने बारे आफ्नो पार्टीको कुनै रुचि नभएको बताउनुभएको छ।
सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
नीतिगत रुपमा हेर्दा यो सरकारको आयु लामो नभए पनि आफूहरूले सरकार बदल्न खोजेको भन्ने बुझाइ चाहिँ सही नभएको उहाँले स्पष्ट गर्नुभयो ।
संसदमा प्रवेश गरिसकेका र समितिमा छलफल भइरहेको विधेयकलाई प्रक्रियागत ढंगले फिर्ता लिनुका सट्टा संवैधानिक तथा लोकतान्त्रिक विधिलाई मिचेर मन्त्रीपरिषद्बाट नमिल्ने काम भएको भन्दै अध्यक्ष प्रचण्डले विरोध गर्नुभयो ।
सरकारले संसद् अधिवेशन आह्वान गर्नुको सट्टा अध्यादेशमा बल गरेपछि विपक्षी दलहरूले विशेष अधिवेशनको माग गर्ने तयारी गरेपछि सरकारले बाध्य भएर संसद् आह्वान गरेको बताउनुभयो । अब विपक्षी दलहरूले संसदमा जनताका एजेन्डा प्रभावकारीरुपमा र आवश्यक कानुन निर्माणमा जोड दिने जानकारी पनि अध्यक्ष प्रचण्डले गराउनुभयो।
यसैबीच अध्यक्ष प्रचण्डले सुर्खेत भेरीगंगाको छिन्चुमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै देशव्यापी पार्टीको पक्षमा जनलहर सिर्जना भएकाले मेहनतका साथ लाग्न निर्देशन दिनुभयो । अब पार्टी निरन्तर अभियानमा लाग्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको जानकारी दिँदै उहाँले फागुनदेखि सिरु जनतासँग माओवादी अभियानलाई प्रभावकारी बनाउन कार्यकर्तालाई निर्देशन दिनुभयो।
त्यस्तै अध्यक्ष प्रचण्डले बर्दियाको बबई पुल क्षेत्रका जनतासित भेटघाट गर्दै मध्यवर्ती क्षेत्रका जनताको समस्या समाधानका लागि संसदमा आवाज उठाउने र आवश्यक कानुन परिमार्जन गरेर जानुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्