प्रादेशिक महोत्सव आजदेखि शुरु हुँदै, पूर्वप्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने
बाँके। नेपालगन्जमा आजदेखि शुरू हुन लागेको प्रादेशिक महोत्सव-२०८१ को उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले गर्नुहुनेछ। नेपालगन्ज उद्योग वाणिज्य संघको मुख्य आयोजनामा आजदेखि सुरु हुने महोत्सव माघ २२ गतेसम्म कारकाँदोस्थित सडक विभाग परिसरमा सञ्चालन हुने छ।
संघका प्रवक्ता डम्बर चन्दका अनुसार आज, बिहीबार दिउँसो १ बजे भव्य समारोहका बीच उद्घाटन गरिने छ। महोत्सवको प्रमुख अतिथि तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले उद्घाटन गर्नुहुनेछ। उद्घाटन समारोहमा सहभागी हुन प्रचण्ड सुर्खेत हुँदै नेपालगन्ज आउने कार्यक्रम तय भएको छ।
उद्घाटन समारोहमा बाँकेबाट प्रतिनिधित्व गर्ने संघीय सांसद, प्रदेशका मन्त्री तथा सांसद, स्थानीय तहका जनप्रतिनिधि, उद्योग वाणिज्य महासंघका केन्द्रिय पदाधिकारी, वरिष्ठ उद्योगपति, व्यापारी, समाजसेवी, नागरिक अगुवा लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिती रहने बताइएको छ। महोत्सव उद्घाटन गर्नुअघि बिहान १० बजे संघको कार्यालय त्रिभुवन चोक पूर्वबाट झाँकी निकालिने छ। उक्त झाँकी सुर्खेत रोड हुँदै महोत्सव स्थलमा पुगेर समापन हुने प्रवक्ता तथा महोत्सव प्रचार संयोजक चन्दले जानकारी दिनुभयो।
संघका अध्यक्ष टंक धामीले उद्योग, व्यापार, कृषि, पर्यटन, जडीबुटी, रोजगार, सूचना प्रविधि र पर्यटन व्यवसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो।
संघका महासचिव भिम रानाभाटका अनुसार उक्त महोत्सवमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उत्पादित खाद्य वस्तु र जडीबुटी प्रदर्शनीमा राखिनेछ। महोत्सवमा कृषि, पर्यटन, अटोमोबाइल्सका स्टलहरू पनि रहने छन्। सूचना तथा विज्ञान प्रविधि सम्बन्धी नवीनतम प्रविधिहरूका साथै उद्यमशाला पनि प्रदर्शनीमा राखिने संघले जनाएको छ।
महोत्सवमा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको गीत, नृत्य, लाइभ दोहोरी, हास्यब्यङ्ग लगायतका सांस्कृतिक प्रस्तुति र कृषि, पर्यटन, जडीबुटी, हस्तकला, अटोमोबाइल्स लगायतका ३ सय ५० वटा स्टलका साथै सूचना तथा विज्ञान प्रविधि सम्बन्धी नवीनतम प्रदर्शनी, विदेशी उद्यमशाला तथा उद्योग प्रदर्शनी, थारू विलेज तथा विद्यालय स्तरीय नृत्य तारा प्रतियोगिता पनि हुने छ।
महोत्सवमा रोजगार प्रवद्र्धन सम्बन्धी प्रदर्शनी पनि राखिने संघले जानकारी दिएको छ। महोत्सव आयोजनामा एक करोड रुपैयाँ खर्च हुने र करिव ५० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। महोत्सवबाट प्राप्त आम्दानी व्यवसायिक हितमा प्रयोग गरिने संघले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्