प्रधानमन्त्री कप क्रिकेट: हुस्सुका कारण आजको खेल रद्द
धनगढी । बाक्लो हुस्सुका कारण यहाँ जारी प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज हुने भनिएको कोशी र मधेस प्रदेशबीचको खेल रद्द भएको छ ।
आज बिहान ११ बजेका लिग तय गरिएको उक्त खेल दिउँसो १ः१५ बजेसम्म पनि हुस्सुका कारण हुन नसकेपछि रद्द गरिएको रेफ्री मोहम्मद सफिकले जानकारी दिनुभयो ।
खेल रद्द भएपछि दुवै टोलीले १/१ अङ्क बाँडेका छन् । समूह बी मा रहेका कोशी र मधेस यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका टोली हुन् ।
यो समूहबाट त्रिभुवन आर्मी क्लब विजेता र बागमती प्रदेश उपविजेता रूपमा सुपर फोरमा पुगेका छन् । समूह ‘ए’ बाट एपिएफ विजेता र सुदूरपश्चिम उपविजेताका रूपमा सुपर फोरमा सुरक्षित छन् । सुपर फोरका खेल बिहीबारदेखि हुनेछ ।
पहिलो सुपर फोरको खेलमा बिहान ९ बजे एपिएफ र बागमती तथा दिउँसो १ बजे सुदूरपश्चिम र आर्मी भिड्नेछन् । यही माघ १ गतेदेखि सुरु भएको प्रतियोगितामा माघ १२ गते सम्पन्न हुनेछ । प्रतियोगिताको उपाधि विजेताले रु पाँच लाख, उपविजेताले तीन लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २५/२५ हजार पुरस्कार प्राप्त गर्नेछन् । रासस
प्रतिक्रिया राख्नुहोस्