तीन लाखसहित पौवादुङमा गोल्डकपको उपाधि झापाको राजगढलाई
भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रे रङ्गशालामा भएको दोस्रो आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिताको उपाधि राजगढ फुटबल क्लब झापाले जितेको छ ।
बुधवार भएको फाइनल खेलमा राजगढ फुटबल क्लब बाह्रदर्शी गाउँपालिका झापाले भोजपुरको पौवादुङमा गाउँपालिकाको तिवारी भञ्ज्याङ फुटबल क्लबलाई पेनाल्टी सुट आउटमा हराउँदै उपाधि जितेको हो ।
राजगढले तिवारी भञ्ज्याङ माथि ४–३ को जित निकालेको थियो । फाइनल खेलको म्यान अफ द म्याच राजगढका श्याम मुर्मु भए ।
गाउँपालिका खेलकुद विकास समिति, पौवादुङमा, भोजपुरको आयोजनामा गत माघ एक गतेबाट बृहत् माघी मेला तथा गोल्डकप सुरु भएको थियो । प्रतियोगिताको विजेता तथा उपविजेताले नगद तीन र दुई लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र पाएका छन् ।
गत वर्षबाट सुरु प्रतियोगिता अन्तर्गत दोस्रो संस्करणका रुपमा सञ्चालन भएको प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया राख्नुहोस्