तपाईँ सुन्दै हुनुहुन्छः

तराई–मधेसमा चिसो बढ्यो: जनजीवन प्रभावित,वीरगन्जका विद्यालय फेरी ३ दिन बन्द

बीरगंज । तराई–मधेसमा चिसो बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रका विद्यालयहरूमा फेरि ३ दिनका लागि जाडो बिदा दिएको छ । 

कठ्याग्रीदो जाडो, शीतलहरूसँगै बढ्दै गएको चिसो मौसमलाई मध्यनजर गर्दै महानगरपालिकाले विद्यालयहरूमा फेरि आज तेस्रो पटक (बुधबार)देखि ३ दिनका लागि जाडो बिदा दिएको हो ।

महानगरपालिकाले  वर्षे बिदामा कट्टा हुने गरी आज माघ ९ गते बुधबारदेखि माघ ११ गते शुक्रबार सम्म वीरगन्ज महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा जाडो बिदा दिइएको जनाएको  छ । अब महानगरका विद्यालयहरू माघ १३ गते आइतबारदेखि नियमित सञ्चालनमा आउने महानगरपालिकाका शिक्षा समितिका संयोजक ईश्वरचन्द्र यादवले जानकारी दिनुभयो ।

यसअघि महानगरपालिकाले गत माघ २ गते देखि ६ गतेसम्म र पुस २४ देखि पुस २६ गतेसम्मका लागि विद्यालयहरूमा जाडो बिदा दिएको थियो । वीरगन्ज सहित तराई–मधेसमा अहिले फेरी चिसो बढ्दै गएका कारण जनजीवन प्रभावित भएको छ । हुस्सु लाग्नुका साथै शीतलहर पनि चल्न थालेपछि खासगरी वृद्धवृद्धा, बालबालिका र दैनिक ज्याला मजदुरीमा काम गर्नेहरूलाई बढी सास्ती भएको छ ।

यसैबिच आज पनि बिहानै देखि तराई मधेसका जिल्लाहरूमा बाक्लो हुस्सु सहित शितलहर परेको छ । विशेषगरी जाडोको कारण बालबालिका, वृद्धवृद्धा, दम तथा रुघाखोकीका बिरामी समस्यामा पर्ने भएकाले सतर्कता अपनाउन नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर निरज सिंहले बताउनुभयो ।

यसका साथै बाथ तथा गेठियाका रोग लागेका बिरामीलाई चिसोका कारण थप समस्या बढ्ने जोखिम भएको कारण यसबाट जोगिन बिहानको समयमा मर्निङ वाक नगर्न र गर्नै परे शरीर ढाकिने गरी न्यानो लुगा लगाउन आवश्यक रहेको सिंहले बताउनुभयो । केही दिन देखि वीरगन्ज स तराई मधेसमा अत्यधिक चिसो बढेकाले उच्च सतर्कता अपनाउन सिंहले आग्रह गर्नुभयो ।  हाल वीरगन्जको नारायणी अस्पतालमा रुघाखोकी, ज्वरो, कोल्ड डायरियाका बिरामी बढेका छन् ।

चिसो बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रका सार्वजनिक स्थान तथा चोकहरूमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाउँदै आएको छ  । आज बिहान पनि महानगरपालिकाले नारायणी अस्पताल परिसर,माईस्थान चोक,घण्टाघर चोक लगायतका स्थानमा आगो बालेर ताप्ने व्यवस्था मिलाएको हो ।

वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंहको निर्देशनमा नगर प्रहरी र कर्मचारीहरूको टोलीले वडा अध्यक्षहरूको समन्वयमा घण्टाघर,माइस्थान,,वीर्ता चोक,नारायणी अस्पताल लगायतका सार्वजनिक स्थलहरूमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाएको महानगरका सरसफाइ व्यवस्थापन महाशाखाका प्रमुख सर्फुदिन मियाँले जानकारी दिनुभयो । 

यता जाडो र सितलहरले प्रभावित विपन्न,असहाय र अल्पसङ्ख्यक समुदाय लाई न्यानो कपडा तथा कम्बल वितरण गरिने कार्यलाई समेत तीव्रता दिइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button