मुगुमा पछिल्लो छ महिनामा मृत्यु दरमा वृद्धि, कारण अनिश्चित
मुगु । पछिल्लो एक वर्षमा मुगु जिल्लामा आकस्मिक मृत्युको संख्या उल्लेखनीय रूपमा बढेको छ। यद्यपि स्वास्थ्य कार्यालयसँग मृत्युसम्बन्धी यथार्थ तथ्यांक उपलब्ध छैन, स्थानीय स्तरमा घरघरमा आकस्मिक मृत्यु दरमा वृद्धि देखिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय मुगुका स्वास्थ्य सेवा व्यवस्थापक डा. निर्मल नगरकोटीका अनुसार, “बिरामीहरूलाई अस्पताल पुर्याउँदा उनीहरू मृत्यु भइसकेका हुन्छन्, र यसरी मृत्युको कारण पहिचान गर्न गाह्रो हुन्छ। उच्च रक्तचापको कारण हृदयघातको संभावना बढी हुनसक्छ। जनचेतनाको कमीका कारण मानिसहरूले समयमै स्वास्थ्य जाँच गराउँदैनन्, जसले उच्च रक्तचापको समस्यालाई बढावा दिन सक्छ,” उहाँले बताउनुभयो।
पछिल्लो छ महिनामा मृत्यु दरमा वृद्धि भएपछि यो विषयमा अनुसन्धान र स्क्रिनिङ कार्य भइरहेको डा. नगरकोटीले जानकारी दिनुभयो।
उहाँले थप भन्नुभयाे, “यस अवस्थाको थप अनुसन्धानका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट जिल्लाका चारवटा स्थानीय तहमा एक महिना भित्र नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिनेछ। यस कार्यक्रमअन्तर्गत दम, उच्च रक्तचाप, क्यान्सर लगायतका रोगहरूको अवस्था चेकजाँच गरिनेछ।”
छायाँनाथ रारा नगरपालिकामा मात्र छ महिनामा एक दर्जनभन्दा बढी व्यक्तिले उमेर नपुगी अकालमै ज्यान गुमाएका छन्। यी मृतकहरूमा अधिकांश ६० वर्षभन्दा कम उमेरका रहेका छन्।
प्रतिक्रिया राख्नुहोस्