तपाईँ सुन्दै हुनुहुन्छः

पाँचौँ टाइगर कप भलिबल माघ १२ देखि हुने

कास्की । मोफसलकै सर्वाधिक राशिको टाइगर कप भलिबलमा विदेशी खेलाडीहरूले सहभागिता जनाउने भएका छन् । एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता माघ १२ देखि १९ गतेसम्म पोखरा रङ्गशालामा हुँदैछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा दुई विदेशीसहित ६–६ टोलीले भाग लिने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

यो संस्करणमा विदेशी टोलीको रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ श्रीलंकन आर्मी भलिबल टिम सहभागी छन् । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब सहभागिता जनाउने टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो ।

महिलातर्फ सहभागी हुने टोलीमा नेपाल एपीएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् ।

यसपाली आयोजकले छुट्टै महिला टिम सहभागी बनाएको कार्यक्रम संयोजक रामकृष्ण ज्ञवालीले बताउनुभयो । पुरुषतर्फ गण्डकी र महिलातर्फ आयोजक टोलीमा ३–३ विदेशी खेलाडी समावेश गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विभागीय बाहेक अन्य टोलीले पनि विदेशी खेलाडीलाई अनुबन्ध गर्ने भएकाले प्रतियोगिता झनै रोमाञ्चक हुने प्रतियोगिता संयोजक ज्ञवालीले जानकारी दिनुभयो ।

दुवैतर्फको विजेताले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई समान २ लाख ८५ हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । तृतीय हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button