मुलुकको निर्यात ३१.८ प्रतिशतले वृद्धि
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मुलुकको निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा त्यस्तो निर्यात ७.२ प्रतिशतले घटेको थियो ।
अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ९८ अर्ब ७९ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । गत आव सोही अवधिमा भने ७४ अर्ब ९७ करोडको निर्यात भएको थियो ।
६ महिनाको अवधिमा ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ बराबरका वस्तुहरू नेपालमा आयात भएका छन् । आयात गत वर्षको यसै अवधिको तुलनामा ७.१ प्रतिशतले बढेको छ । गत आव पहिलो ६ महिनामा ७ खर्ब ६८ अर्ब १७ लाख रुपैयाँ बराबरका वस्तु आयात भएको थियो ।
अर्थ मन्त्रालयमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले चालु आव पहिलो ६ महिनामा राजस्व सङ्कलन १२.७ प्रतिशतले वृद्धि भएको बताउनु भयो ।
कुल विनियोजित ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ पूँजीगत खर्चमध्ये ६ महिनामा ५६ अर्ब ९४ करोड खर्च भएको छ । यो वार्षिक विनियोजनको तुलनामा १६.२ प्रतिशत खर्च हो । गत वर्षको यसै अवधिमा त्यस्तो खर्च १५.६ प्रतिशत भएको थियो ।
त्यसैगरी पहिलो ६ महिनामा सरकारको खर्च ७.८ प्रतिशतले बढेको छ । गत आव सोही अवधिमा १.७ प्रतिशतले घटेको थियो । वित्तीय संस्थामा निक्षेप सङ्कलन ३.३ प्रतिशतले सुधार भएर २ खर्ब ११ अर्ब सङ्कलन भएको छ । कर्जा प्रवाह पनि ४.४१ प्रतिशतले बढेको छ ।
चालु बजेटमा चालु खर्चका लागि विनियोजित ७ खर्ब ३१ अर्ब ७९ करोडमध्ये पुस मसान्तसम्म २ खर्ब ६६ अर्ब ८५ करोड खर्च भएको छ
यसैगरी वित्तीय व्यवस्थातर्फ विनियोजित ३ खर्ब ६७ अर्ब २८ करोडमध्ये पुस मसान्तसम्म १ खर्ब ५८ अर्ब ६६ करोड खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । यो वार्षिक विनियोजनको तुलनामा ४३.२ प्रतिशत खर्च हो ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वित्तीय समानीकरण अनुदानतर्फ ६८ अर्ब २६ करोड, ससर्त अनुदान १ खर्ब १२ अर्ब २५ करोड, समपूरक अनुदान २ अर्ब ४३ करोड, विशेष अनुदान २ अर्ब ५१ करोड गरी कुल १ खर्ब ८५ अर्ब ४४ करोड हस्तान्तरण भएको छ । यो भनेको वार्षिक विनियोजनको तुलनामा ४५.४ प्रतिशत बराबर हस्तान्तरण हो ।
त्यस्तै राजस्व बाँडफाँटतर्फ ५१ अर्ब ७४ करोड हस्तान्तरण भएको छ । वार्षिक विनियोजन भने १ खर्ब ५९ अर्ब बराबर थियो । यो ३२.५ प्रतिशत हस्तान्तरण हो ।
यस अवधिमा सरकारले लक्ष्यको ५४.९ प्रतिशत आन्तरिक ऋण उठाएको छ भने वैदेशिक ऋण २७.१ प्रतिशत उठाएको छ । गत वर्षको यसै अवधिमा वैदेशिक ऋण प्राप्ति ५७ प्रतिशतले वृद्धि भएको थियो । यस अवधिमा वैदेशिक अनुदान प्राप्ति भने ४.८ प्रतिशतले वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्