तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशको ६ महिनामा बजेट खर्च १९ प्रतिशत मात्रै

बाँके । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल बजेटको १९ दशमलव ३४ प्रतिशत मात्र खर्च गर्न सकेको छ। चालुतर्फ २३ दशमलव ९५ प्रतिशत र पुँजीगततर्फ १६ दशमलव ६४ प्रतिशत बजेट मात्र खर्च भएको छ। चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३८ अर्ब ९७ करोडको बजेट पारित गरे पनि अहिलेसम्म जम्मा ७ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ खर्च भएको हो।

लुम्बिनी प्रदेशमा पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाखको बजेट छुट्याइएकोमा ६ महिनामा जम्मा ४ अर्ब ९ करोड १३ लाख मात्र खर्च भएको छ। चालु खर्चका लागि छुट्याइएको १४ अर्ब ३८ करोड ४१ लाखमध्ये ३ अर्ब ४४ करोड ४६ लाख खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ।

प्रदेशमा मुख्यमन्त्री कार्यालयसहित १० वटा मन्त्रालय छन्। ती मन्त्रालयहरूको खर्च असमान देखिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पुँजीगततर्फ शून्य प्रतिशत मात्र खर्च गरेको छ, भने स्वास्थ्य मन्त्रालयले पुँजीगत बजेटको ४२ दशमलव १२ प्रतिशत खर्च गरेर सबैभन्दा अग्रस्थानमा छ।

प्रदेश सरकारले बजेटको ठूलो हिस्सा पुँजीगततर्फ छुट्याए पनि त्यसको खर्च निकै सुस्त छ। पुँजीगततर्फको शून्य प्रतिशत खर्च गर्ने मन्त्रालयले सरकारको कार्यक्षमतामाथि गम्भीर प्रश्न खडा गरेको छ।

विशेषगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयजस्ता निकायको शून्य प्रतिशत पुँजीगत खर्चले योजना कार्यान्वयनमा ध्यान दिन नसकिएको देखाउँछ। यस्तो अवस्थामा बजेट कार्यान्वयनलाई तीव्र बनाउन प्रदेश सरकार र सम्बन्धित मन्त्रालयहरूले प्रभावकारी योजना बनाउनु आवश्यक छ।

लुम्बिनी प्रदेशको खर्चको यो सुस्त गतिले विकास निर्माणका कार्यमा अवरोध खडा गर्ने देखिएको छ। प्रदेश सरकारलाई चालु र पुँजीगत दुवै बजेट कार्यान्वयनको लागि ठोस योजना बनाउन विशेषज्ञहरूले सुझाव दिएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button