तपाईँ सुन्दै हुनुहुन्छः

‘चीनसँगको सम्बन्ध उच्च प्राथमिकतामा’

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले नेपाल–चीनबीचको सम्बन्ध उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा काठमाडौँमा आयोजित परेड कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष रानाले दुई देशबिचमा सुमधुर र समस्यारहित सम्बन्ध रहेकाले उच्च प्राथमिकता दिँदै आएको धारणा राख्नुभएको हो ।

“नेपाल र चीनबीच घनिष्ठ, मैत्रीपूर्ण र ऐतिहासिक सम्बन्ध छ । हाम्रो सम्बन्धको जरा गहिरो र बहुआयामिक छ”, उहाँले भन्नुभयो, “हामी दुई देशबीचको सुमधुर र समस्यारहित सम्बन्धबाट धेरै खुसी छौँ र हामी चीनसँगको सम्बन्धलाई उच्च महत्व र प्राथमिकता दिन्छौँ ।” उहाँले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति चीनले गरेको निःशर्त सम्मानको नेपालले सधैँ कदर गर्ने बताउनुभयो ।

दुई देशले उच्चस्तरीय भ्रमण र कार्यक्रमको नियमित आदानप्रदानबाट द्विपक्षीय सम्बन्धमा ऐतिहासिक प्रगति र गतिशीलता हासिल गरेको चर्चा गर्दै उपसभामुख रानाले औपचारिक भ्रमणका क्रममा भएका महत्वपूर्ण निर्णय र सहमतिहरूले द्विपक्षीय सम्बन्ध र सहयोगमा नयाँ गतिशीलता ल्याउने विश्वास पनि व्यक्त गर्नुभयो ।

चीनका राजदूत छन सोङले चीन–नेपाल कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव र चिनियाँ नयाँ वर्ष मनाउने क्रममा आयोजित परेडले विशेष महत्व रहेको बताउँदै यसले दुई देशबीचको घनिष्ठ र निरन्तर बढ्दै गइरहेको सम्बन्धलाई अगाडि बढाउन उत्कृष्ट अवसर बन्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा चीन र नेपालका विविध संस्कृति झल्कने प्रस्तुति पनि देखाइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button