भीमताल पहिरो: मृतक परिवारलाई मधेश प्रदेश सरकारको सहयोग
जनकपुरधाम । गत असार महिनामा चितवन जिल्लाको भिमताल पहिरो दुर्घटनामा परि निधन भएका मृतकका परिवारलाई मधेश प्रदेश सरकारले सहयोग रकम वितरण गर्ने भएको छ । पहिरोमा परी निधन भएका मधेश प्रदेशका चार जिल्लाका ३९ परिवारलाई १ लाखका दरले सहयोग गर्ने भएको हो ।
गत असार २८ गते चितवन जिल्लाको भरतपुर महानगरपालिकाको वडा नंं २९ स्थित नारायण गढ मुग्लिङ सडक खण्डको भिमतालको पहिरोमा परी दुई वटा बस त्रिसुली नदिमा खस्दा बसमा सवार मधेश प्रदेशका ४ जिल्लाका ३९ यात्री बेपता भएका थिए । घटना घटेको करिब ७ महिना हुनै लाग्दा मृतकका परिवारलाई ३९ लाख राहत रकम प्रदान गर्ने गरि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा रकम निकासा गरेको मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्रालयका लेखा अधिकृत विदुर आचार्यले जानकारी दिनु भयो ।
वीरगन्जबाट काठमाडौँ तर्फ गइरहेको वा ०३–००६ ख १५१६ नम्बरको एन्जलस डिलक्स बस र काठमाडौँबाट रौतहटका लागि छुटेको वा ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस भीमताल पहिरोमा परेर त्रिशूली नदिमा खसेर दुर्घटना हुँदा बसमा सवार रहेका पर्सा जिल्लाका १०, बाराका ६, रौतहटका १९ र सर्लाहीका ४ जना बेपत्ता भएका थिए ।
सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उक्त राहत सहितको रकम पठाउने काम भएको मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयले जनाएको छ । प्रदेश विपत व्यवस्थापन समितिको २०८१ साल असोज ६ गते भएको निर्णय अनुसार मृतक परिवारलाई १ लाखको दरले रकम दिनका लागि मृतक सङ्ख्याको आधारमा रकम पठाउने काम भएको लेखा अधिकृत आचार्यले जानकारी दिनु भयो ।
प्रतिक्रिया राख्नुहोस्