तपाईँ सुन्दै हुनुहुन्छः

इजरायली सरकारद्वारा गाजा युद्धविराम सम्झौतालाई अनुमोदन 

जेरूसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले शनिबार गाजायुद्धविराम र बन्धक मुक्त गर्ने सम्झौतालाई इजरायलको मन्त्रिपरिषद्ले अनुमोदन गरेको जनाएको छ ।

आइतबारदेखि सुरु हुने युद्ध विरामले गाजाको अहिलेसम्मकै सबैभन्दा घातक युद्धमा लडाई र बमबारी रोकिनेछ ।

यसले सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि इजरायली जेलबाट सयौँ प्यालेस्टिनी कैदीको बदलामा उक्त क्षेत्रमा रहेका बन्धकहरूलाई रिहा गर्न निर्देशित गरेको छ । 

नेतन्याहूको कार्यालयले शनिबार बिहान मन्त्रिपरिषद्मा भएको मतदानपछि भन्नुभयो, “सरकारले बन्धक फिर्ता गर्ने योजनालाई अनुमोदन गरेको छ ।”

इजरायलको न्याय मन्त्रालयले पहिलो चरणको सम्झौताअनुसार ७३७ जना कैदी बन्दीलाई रिहा गरिने जनाएको छ ।

इजरायली सेनाले युद्धविराम सम्झौताको घोषणा भएपछि पनि  कारबाहीलाई जारी राखेको जसबाट दर्जनौँको ज्यान गुमेको छ । सेनाले बिहीबार जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “सेनाले विगत २४ घण्टामा गाजाका करिब ५० वटा लक्ष्यमा आक्रमण गरेको छ ।”

निवर्तमान अमेरिकी राष्ट्रपति जो बाइडनको टोलीसँग मिलेर सम्झौता गर्ने श्रेय लिएका डोनाल्ड ट्रम्पको सपथ ग्रहणको पूर्व सन्ध्यामा यो युद्धविराम लागू हुन लागेको हो ।

नेतन्याहूको कार्यालयले यसलाई ‘युद्धको उद्देश्य हासिल गर्न समर्थन गर्ने’ भन्दै इजरायलको सुरक्षा क्याबिनेटले यसलाई अनुमोदन गरेको थियो ।

प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले प्यालेिस्टनी प्राधिकरणले युद्धपछि गाजामा पूर्ण जिम्मेवारी लिने तयारी पूरा गरेको बताउनुभएको छ । 

युद्धविराम सुरु हुनुअघि नै विस्थापित गाजावासीहरू घर फर्कने तयारी गरिरहेको स्थानीय सञ्चारमाध्यमबाट प्रसारित समाचारमा जनाइएको छ । 

रासस/एएफपी 

प्रतिक्रिया राख्नुहोस्

Back to top button