लुम्बिनी कप राष्ट्रिय महिला फुटबलकाे तयारी तीव्र
नेपालगञ्ज । नेपालगञ्जमा आयोजना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको प्रारम्भिक तयारीका बारेमा आज पत्रकारलाई जानकारी गराइएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल सङ्घको सहकार्यमा लुम्बिनी कप महिला फुटबल यही फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्जमा हुँदैछ ।
नेपालगञ्ज रङ्गशालामा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगितालाई सभ्य तथा भव्यरुपमा सञ्चालन गर्न युद्धस्तरमा तयारी थालिएको जानकारी गराउनुभयो ।
प्रतियोगितामा भारतका दुई र नेपालका ६ गरी आठ वटा क्लबको सहभागिता रहने शाहले बताउनुभयो । पत्रकाद्वारा सोधिएको प्रश्नको जवाफमा शाहले भन्नुभयो—‘स्रोत व्यवस्थापनका आधारमा प्रतियोगिताका विजेता, उपविजेता र तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगदसहितको पुरस्कार उपलब्ध गराइनेछ ।’
यति ठूलाे प्रतियोगिता नेपालगञ्जमा आयोजना गर्नु नै मुख्य चुनौती रहेको बताउँदै उहाँले प्रतियोगिता आयोजनाको अगुवाइ अन्तरालले गरे पनि यसमा सबैले अपनत्व ग्रहण गर्न सक्नुपर्ने बताउनुभयो ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले लुम्बिनी कप महिला फुटबल प्रतियोगिताका लागि स्थानीय एउटा सशक्त टिम सहभागी गराउने तयारी थालिएको बताउनुभयो । पत्रकार भेटघाट कार्यक्रममा मिडिया संयोजक नीरजकुमार गौतमले अहिलेसम्म भए गरेका तयारीका सम्बन्धमा जानकारी गराउनुभएको थियो । त्यस अवसरमा नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी र बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले महिला फुटबल विकासका बहुआयामिक पक्षका बारेमा प्रकाश पार्नुभएको थियो ।
पत्रकार भेटघाट कार्यक्रममा राखेप लुम्बिनी प्रदेश सदस्य जनक केसी, सचिवालय प्रमुख रमेश मल्ल, परिचालन तथा समन्वय समितिका तेजविक्रम शाह, बाँके महिला फुटबल समितिका अध्यक्ष नितु शाह चन्द लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्